पोखरा/खोटाङ- यात्रुबाट बढी भाडा लिएको आरोपमा दुई जनाविरुद्ध कालोबजारीअन्तर्गत मुद्दा दायर गरिएको छ। तोकिएकोभन्दा बढी भाडा लिएको आरोपमा हुर्लुङस्थित खोटाङ यातायात प्रालिको काउण्टरबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका तेञ्जी शेर्पा र फुर्वा शेर्पालाई पक्राउ गरी सोमबार मुद्दा दायर गरिएको हो।
खोटाङबाट काठमाडौँ जाने यात्रुबाट जनही १ हजार ४ सय ५० लिनुपर्नेमा २ हजार रुपैयाँ लिएको गुनासो आएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। यातायातमा कालोबजारी भएको गुनासो आए पनि उजुरी नपरेपछि प्रहरी आफैं यात्रु भएर जाँदा कालोबजारी गरेको पुष्टि भएपछि उनीहरू पक्राउ परेका थिए।
पक्राउ परेकाहरूविरुद्ध सोमबार नै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्नाका साथै १० दिनको म्याद थप गरेर कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए। कालोबजारी आरोपमा एक वर्षसम्म कैद तथा १० लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने कानुनी प्रावधान छ।
दसैं-तिहारको बेलामा जिल्ला भित्रिने र बाहिरिने यात्रुबाट मनपरी भाडा लिएकाले जाँचका लागि ठाउँ–ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताए। ऐँसेलुखर्क, बाक्सिलालगायत ग्रामीण क्षेत्रमा सञ्चालन हुने सवारी साधनले यात्रुबाट मनपरी भाडा लिइरहेको गुनासो आएको थियो।
तीन दिनमा १ सय १० ट्याक्सी चालक नियन्त्रणमा
तीन दिनयता पोखरा महानगरपालिकाका विभिन्न स्थानमा मिटरमा नगई मनोमानी भाडा लिने तथा मिटर नै जडान नगरी चलाउने १ सय १० ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
असोज २५, २६ र २७ गते कास्की जिल्ला प्रहरी कार्यालयले गरेको जाँचका क्रममा क्रमशः ५३, २७ र ३० ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिएको सह-सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
उनका अनुसार दसैं मनाउन विभिन्न जिल्लामा जाने यात्रु नठगिउन भन्ने उद्देश्यले पोखराबाट बाहिरिने मुख्य सडक एवं बढ्दो सवारी चाप हुने स्थानमा प्रहरीले यात्रु सहायताकक्ष स्थापना गरी सेवा प्रदान गरिरहेको थियो।
यात्रुलाई अप्ठ्यारोमा पारी मनोमानी भाडा लिने र मोलमोलाइ गर्ने प्रवृत्ति अन्त्यका लागि सडकमा जाँचका साथै सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको प्र्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।