डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिका-६, भजनेउटामा रहेको कुटीमा बस्दै आएका साधुको शंकास्पद मृत्युको घटनाको अनुसन्धानका लागि डडेल्धुरा प्रहरीले तीन जना किशोरलाई नियन्त्रणमा लिएको छ।
४०/४५ वर्ष अगाडिदेखि कुटीमा बस्दै आएका अन्दाजी ७५ वर्षीय उमाशंकर गिरी नाम गरेका साधुको गत बुधबार बेलुकी निवासै शंकास्पद अवस्थामा शव फेला परेको थियो।
शनिबार अन्दाजी वर्ष १४ र १६ का स्थानीय २ जना किशोरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ। सोही घटनामा संलग्न भनी आइतबार १४ वर्षीय अर्का स्थानीय किशोरलाई पक्राउ गरिएको छ।
भागेर बैतडी र डडेल्धुराको सीमानामा लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब निरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। उनका अनुसार 'बालबालिका ऐन २०७५' को दफा ११ बमोजिम पक्राउ परेकाहरुको नाम, थर नखुलाइएको हो।
गिरीको शव भेटिएको स्थानमा ढुंगामा रगत पनि भेटिएपछि उनको मृत्यु शंकास्पद बनेको हो। प्रहरी नायब निरीक्षक दधिराम न्यौपानेले भने, ‘नियन्त्रणमा लिएका व्यक्तिहरु असोज २१ गते घटनास्थल नजिकै कोटेलीमा रहेको पसलमा मदिरा सेवन गरी होहल्ला गर्दै मृतकको कुटीमा गइ फर्कने क्रममा नजिकै सडकमा गिरीसँग भेट भएको थियो। सो क्रममा विवाद हुँदा गिरीलाई १६ वर्षका किशोरले ढुंगा प्रहार गरेका थिए। ढुंगा प्रहार गरेपछि गिरी भागेर आफ्नो कुटीमा गएको बेला उनीहररुले लखेट्दै गई पुनः ढुंगा प्रहार गरेका थिए। सोपश्चात् उनीहरु त्यहाँबाट भागी आ-आफ्नो घर गएको प्रारम्भिक बयानबाट खुल्न आएको छ।’
नियन्त्रणमा लिइएका किशोरहरुमाथि कर्तव्य ज्यान मुद्धा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।