डडेल्धुरा- डडेल्धुराको आलिताल गाउँपालिका–४ जालटुडामा स्काइभेटरले किचरे गएराति एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका ५२ वर्षीय मानबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ।
परशुराम नगरपालिकाको जोगबुडाबाट डोटीको बुडरतर्फ आइरहेको बा२क ५४६४ नम्बरको स्काइभेटरले किच्दा पैदल यात्री बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
चालकको लापरवाहीले घटना भएको भन्दै स्थानीय आक्रोशित भएका छन्। उक्त स्काइभेटर परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउँदको निर्माण कम्पनी राजेन्द्र निर्माण सेवा प्रालिको रहेको जनाइएको छ।
स्काइभेटर चालक शेरबहादुर महरा भने फरार रहेको र उनको खोजीकार्य तीव्र पारिएको डिएसपी न्यौपानले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।