उदयपुर (कटारी)- मदन भण्डारी लोकमार्गस्थित उदयपुरको कटारी नगरपालिका-५, भोर्लेमा आज मिनी ट्रक दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। घाइतेमध्ये आधा दर्जन व्यक्तिको अवस्था गम्भीर छ।
रिस्कुबाट कटारीतर्फ जाँदै गरेको बा३ख ७३०१ नम्बरको मिनी ट्रक करिब साढे ९ बजे दुर्घनामा परेको थियो। २८ जना यात्रु बोकेको ट्रक ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।
घाइतेमध्ये २२ जना सामान्य र ६ जना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। त्रियुगा नगरपालिका ५ का २७ वर्षीय लक्ष्मण खत्री, कटारी नगरपालिका-६, चुहाडेका २५ वर्षीय सुजाता राई, सोही नगरपालिका-९, लिम्पाटारका ३० वर्षीय प्रकाश सुर्खेती, इटहरी उपमहानगरपालिका-१० की २० वर्षीया विना विक, ३० वर्षीय कल्पना विक, ४४ वर्षीय खेचर विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
खेचर विक र सुजाता राईको हात भाँचिएको छ भने विना, कल्पना, लक्ष्मण, प्रकाशको टाउको र अनुहारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले बताए। उनीहरुलाई उपचारका लागि विराटनगर पठाइएको प्रहरीको भनाई छ। सामान्य घाइतेको कटारीस्थित कटारी अस्पताल, आस्था अस्पताल र मोडल अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।