काभ्रे– पनौती नगरपालिका– ३, कुशादेवीमा पहिलो पटक ग्रामीण कला प्रदर्शनी सम्पन्न भएको छ। ग्रामीण सामुदायिक संगठन नेपालले आयोजना गरेको कला कार्यशाला एवं कला प्रदर्शनी एक हप्तासम्म चलेको थियो।
कार्यशालामा कुशादेवी भेगका ३५ जना विद्यार्थी सहभागी भएका थिए। कला शिक्षक सुरज श्रेष्ठ र विनय हुमागाईंले सहभागी विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए। स्थानीय समुदायको भ्रमण गरेर गाउँमा क्रमशः लोपोन्मुख रहेका नेपाली घर र वस्तीहरुलाई बालबालिकाहरुले चित्रमा उतारेका थिए।
कला कार्यशालामा सिकेका आधारमा बालबालिकाले बनाएका ३२ चित्रको प्रदर्शनी गरिएको थियो। कार्यशाला शिक्षासेवी रामप्रसाद अधिकारी र पूर्व सभासद् रामहरि सुवेदीले संयुक्त रुपमा उद्घाटन गरेका थिए।
कला प्रदर्शनीको अवलोकनपछि पूर्व सभासद् सुवेदीले बालबालिकाले बनाएका वास्तविकतामा आधारित चित्रहरुले उनीहरुको सिर्जनात्मक क्षमता प्रस्फुटनमा सघाउ पुर्याएको बताए। 'यस्तो कला प्रदर्शनी यो भेगकै लागि नौलो र सिर्जनात्मक कार्य हो', उनले भने।
शिक्षासेवी अधिकारीले यस किसिमका सिर्जनशील कार्यले बालबालिकाको कलाप्रतिको सिप र ज्ञानको विकास भई उनीहरुको भविष्य उज्वल हुन सहयोग पुग्ने बताए।
कार्यक्रममा पनौती नगरपालिकाका वडा नं ३ का किशोर थापा, वडा नं २ का वडाअध्यक्ष पुरुषोत्तम अधिकारी, पनौती नगर शिक्षा कार्यालयका प्रमुख मधुसुदन अधिकारी, आयोजक संस्थाका कार्यकारी निर्देशक श्रीकृष्ण थापा लगायतले कला प्रदर्शनीको औचित्यबारे प्रकाश पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।