काठमाडौं- परोपकारी संस्था हेल्प नेपाल नेटवर्कले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसहित ३ जनालाई सम्मान गरेको छ।
स्थापनाको २०औं वार्षिकोत्सवको अवसरमा समाज विशिष्ट योगदान पुर्याउने ३ जनालाई सम्मान गरिएको हो। काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच वाङ्मय शताब्दी पुरुष एवम् संस्कृतिविद् सत्यमोहन जोशीले डा सन्दुक रुइत, श्रीजंग शाह तथा नीरा देवी तेलिनलाई सम्मान गरेका हुन्।
हेल्प नेपालले नेपालगञ्जको आँखा अस्पताललाई अर्बभन्दा बढी सम्पत्ती दान गर्ने शाह, लाखौंको आँखामा उज्यालो भर्ने डा रुइत तथा जनकपुरमा बसेर अनाथ नवजात शिशुहरूको पालन पोषणमा सक्रिय देवीलाई तिनको सेवाको उच्च कदर गर्दै सम्मानित गरेको जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका जोशीले दान नै सबैभन्दा ठूलो तक्मा र विभुषण हो भन्दै परोपकारको सोपानले सबैलाई उचाइमा पुर्याउने धारणा राखे।
संस्थाका संस्थापकहरू मध्येका एक तथा साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले हेल्प नेपाल नेटवर्कको स्थापना गरिँदाको समय स्मरण गरे। उनले आफूले कुनै पनि राजनीति नमिसाई हेल्प नेपाललाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
नेपाली कांग्रेसका नेता गगन थापाले हेल्प नेपाल आफैंमा एउटा प्रभावशाली अभियान भएको उल्लेख गर्दै यसले स्वदेश तथा विदेशमा रहेका नयाँ पुस्तालाई नेपाली माटोसँग जोड्ने धारणा राखे।
नेकपाका नेता घनश्याम भुसालले एक डलर वा एक पाउन्डको सहयोग भन्दा पनि यसले विदेशमा रहेका नेपालीलाई नेपालसँग प्रत्यक्षतः जोड्ने उल्लेखनीय काम गरेकोमा खुसी व्यक्त गरे। भुसालले राज्यले शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा काम गर्नुपर्ने सुझाए। तर, राज्यले नगरेर हेल्प नेपाल र त्यसका सहयोगी हातहरूले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको काम अतुलनीय रहेको भन्दै उनले प्रशंसा गरे।
कार्यक्रममा हेल्प नेपाल अमेरिकाको समूह तथा अस्ट्रेलियाको समूहले दोलखाको राजकुलेश्वर स्कुल निर्माणका लागि हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुणसिंह बस्नेतलाई १५/१५ हजार डलर हस्तान्तरण गरेका थिए।
कार्यक्रममा हेल्प नेपालले गरेका काम र गतिविधिलाई लिएर तयार पारिएको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।