जनकपुर- जनकपुर उप महानगरपालिकाले साउन महिनामै रवाना लिएर आएका नायब सुब्बा पदका एक फरक क्षमताका कर्मचारीलाई हालसम्म हाजिर गराएको छैन।
जेठ असार महिनामा समायोजन भएको बेला जिल्ला समन्वय समितिबाट समायोजित जनकपुरधाम उपमहानगरपालिकामा सरुवा गरिएका नासु रामचन्द्र दासलाई उपमहानगरपालिकाले हालसम्म पदस्थापन हुन दिएको छैन।
साउन २२ गते नै रवाना पत्र लिइ २४ गते उपमहानगरपालिकामा हाजिर हुन जाँदा दासलाई ठाउँ खाली छैन भन्दै हाजिर हुन निदएको दासले बताए।
हालसम्म उनको निवेदन र रवाना पत्र समेत उपमहानगरपालिकाले दर्ता गरेको छैन। एक खुट्टा अशक्त भएका खजुरीका दास वैशाखी लिएर घरबाट साउन २४ गतेदेखि नै उपमहानगरपालिकाको कार्यालयमा दिनहुँ धाउंदै मेयर लालकिशोर साहसँग गुहार गर्दै आएका छन्।
दासलाई सम्बन्धित मन्त्रालयले पायक पर्ने ठाउँ जनकपुरधाम उपमहानरपालिकामा पठाएको थियो। तर, मेयर साहले उनलाई ठाउँ खाली छैन भनेर हाजिर हुन नदिएको गुनासो गरे।
दासले सम्बन्धित मन्त्रालयमा समेत गुनासो गरेका छन् तर हालसम्म कुनै सुनुवाइ हुन सकेको छैन।
मन्त्रालयको आदेशलाई बेवास्ता गर्दै उपमहानगरपालिकाले उनलाई हालसम्म हाजिर हुन दिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।