घाइतेहरुको उद्दारका क्रममा प्रदेश ३ का समाजिक विकासमन्त्री दुलाल।
काठमाडौं- सिन्धुपाल्चोकको भोटसिपामा भएको बस दुर्घटनाका घाइतेहरुको उद्दार गर्न प्रदेश ३ का समाजिक विकासमन्त्री युवराज दुलाल सेनाको हेलिकोप्टर लिएर घटनास्थल पुगेका छन्।
उक्त दुर्घटनास्थल दुलालको निर्वाचन क्षेत्र पनि हो।
बस दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने हालसम्म ५ जनाको पहिचान खुलेको छ।
मृत्यु हुनेमा काभ्रे बनेपाका केदार महाजु, इन्द्रवती गाउँपालिकका-९ का हिरा श्रेष्ठ र विनोद लम्साल, इन्द्रावती गाउँपालिकाकै रितेस आचार्य र काभ्रे पाँचखालकी संगिता पुरकोटी छन्। महाजु बसका चालकसमेत हुन्।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तमाङले घाइतेहरुको उद्धार कार्य जारी रहेको बताए। बाँकी मृतकको भने सनाखत भइसकेको छैन।
घाइतेहरुलाई हेलिकोप्टरमार्फत उद्धार भइरहेको र गम्भीर अवस्थाका तीन घाइतेलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको उनले बताए।

इन्द्रावती गाउँपालिका-९, सिपाटारबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटनामा परेको हो।
बस सडकबाट करिब २ सय मिटर तल खसेको छ। बसमा सवार अधिकांश यात्रु दसैं मनाएर काठमाडौं फर्किंदै गरेका थिए।
बसमा ७० भन्दा धेरै यात्रु रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ। सडकबाट उद्दार सम्भव नभएकाले नेपाली सेनाको हेलिकोप्टर पनि उद्धारका लागि घटनास्थल पुगेको अध्यक्ष तमाङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।