काठमाडौं- म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटमा परेको भीषण असिनाका कारण १५ हजार मुरी धान उत्पादन हुने खेतमा पूर्ण क्षति पुगेको छ।
असिनाका कारण ७५ लाख बराबरको धानबालीमा क्षति पुगेको बेनी नगरपालिका-२ ज्यामरुककोटका अध्यक्ष हिराबहादुर थापाले बताए।
मंगलबार अपराह्न २ बजेदेखि परेको भीषण असिनाका कारण ज्यामरुककोटको गौश्वारा, तमाने, विमिराबोट, फापरखेतलगायत ठाउँमा लगाएको धानबाली, कोदो, फलफूल लगायतको बालीमा क्षति पुगेको हो।
असिनाका कारण स्थानीयवासी भद्रबहादुर रिजालको ५२ मुरी धान उत्पादन हुने खेतको धान बाली पूर्णरुपमा क्षति पुगेको छ।
त्यसैगरी डम्मरबहादुर पोख्रेलको २५, लीला जौसीको २५, चन्द्रकान्त शर्माको २५ मुरीलगायत सयौं किसानको खेतमा लगाएको धानबालीमा क्षति पुगेको हो।
ज्यामरुककोटको गौश्वारा, तमाने र विमिराबोट क्षेत्रका ३०० घरपरिवारमध्ये १५० घरपरिवारको खेतमा लगाएको धानबालीमा पूर्ण क्षति पुगेको छ भने १५० परिवारको खेतमा भने आंशिक क्षति पुगेको बेनपा-२ का वडा सदस्य डम्मरबहादुर पोख्रेलले बताए।
असिना पीडित भद्रबहादुर रिजालका अनुसार ५२ मुरी धान उत्पादन हुने खेतमा लगाइएको धान असिनाले एक दाना पनि काम नलाग्ने गरी झारेको छ। खेतमा धानको नल मात्र बाँकी रहेको छ भने दाना एउटा पनि छैन।
बेनपा–२ का वडाअध्यक्ष हिराबहादुर थापाले असिनाका कारण १५ हजार मुरी धान क्षति भएको र यसबाट कृषकलाई ७५ लाख बराबरको नोक्सान भएको बताए।
वडाध्यक्ष थापाका अनुसार विपद्कालीन बैठक बसेर क्षतिको यथार्थ विवरण सङ्कलन कार्य भइरहेको र एक–दुई दिनभित्रमा वास्तविक क्षतिको विवरण सार्वजनिक गरिनेछ।
असिनाले धान खेती सखाप पारेपछि स्थानीय कृषकहरू चिन्तित बनेका छन्। उनीहरूले राहत पाउन नसकेमा भोकै मर्नुको विकल्प नरहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।