सुर्खेत– मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीको नियुक्ति भएसँगै प्रदेश ६ मा सरकारलाई पूर्णता दिने कसरत सुरु भएको छ। वाम गठबन्धनका दुवै दल नेकपा एमाले र माओवादी केन्द्र मन्त्री छनौटको कसरतमा लागिसकेका छन्।
बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहीको सपथसँगै शुक्रबार नै मन्त्रिपरिषद पनि विस्तार गर्नेगरी दुई दल तयारीमा जुटेका हुन्।
एमालेभित्र कसको नेतृत्वमा सरकारमा पठाउने भन्ने छलफल भइरहेको छ। मुख्यमन्त्रीका आकांक्षी प्रकाश ज्वालाको नेतृत्वमा एमालेले सरकारमा पठाउने सम्भावना रहेको एमाले नेताहरु बताउँछन्। तर, ज्वालाकै जिल्ला सल्यानबाट निर्वाचित अर्का सांसद गुलावजंग शाहले आफ्नो नेतृत्वमा पार्टी सरकारमा जानुपर्ने दाबी गर्दै आएका छन्।
त्यसैगरी, एमालेबाट हुम्लाका दलबहादुर रावत, सुर्खेतका खड्गबहादुर खत्री, दैलेखका अम्मरबहादुर थापा लगायतले पनि मन्त्रीमा दाबी गरिरहेका छन्।
प्रकाश ज्वाला सरकारमा नगए दैलेखका अमरबहादुर थापा मन्त्री बन्ने सम्भावना बलियो छ भने कर्णाली क्षेत्रलाई समेट्दा हुम्लाका दल रावलको पनि मन्त्री बन्ने सम्भावना रहेको स्रोतले जनायो।
अर्कोतर्फ महिला सांसदहरुले पनि उचित स्थापनको माग गर्दै आएका छन्। दैलेखकी मीना रखाल, सुर्खेतकी पद्मा खड्का, डोल्पाकी बद्मी बोहोरा र रुकुम पश्चिमकी देवी वलीले मन्त्री हुने आकांक्षा देखाएका छन्।महिलाबाट दैलेखकी मिना रखाल वा डोल्पाकी बद्मी बोहोरा मन्त्री हुने सम्भावना रहेको बताइन्छ।
यस्तै, मुख्यमन्त्री पाएको माओवादी केन्द्रबाट जुम्लाका नरेश भण्डारी मन्त्री बन्ने लगभग पक्काजस्तै भएको छ। मुख्यमन्त्रीको दाबी गर्दै आएका उनले अन्तिममा महेन्द्रबहादुर शाहीलाई समर्थन गरेका थिए।
माओवादीबाट भण्डारी मन्त्री बन्ने पक्काजस्तै भए पनि अरु नाममा समेत छलफल भइरहेको छ। माओवादी स्रोतका अनुसार सुर्खेतका विन्दमान विष्ट, सिता नेपाली र पश्चिम रुकुमकी विमला केसी मन्त्री बन्ने चर्चा छ। माओवादीलाई दुई जना मन्त्री दिने सहमति भएको जनाइएको छ। जसमा नरेश भण्डारीबाहेक महिला पठाउँदा रुकुमकी विमला केसी र महिला नपठाएको खण्डमा सुर्खेतका विन्दमान विष्ट मन्त्री बन्ने माओवादीका एक सांसदले नेपाल लाइभलाई जनाए।
एमाले र माओवादी दुवै संसदीय दलका नेताले भने नाममाथि टुंगो नलागेको भन्दै अहिल्यै भन्न नमिल्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।