काठमाडौं- नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालय र ६ वटा यूरोपेली राष्ट्रका दूतावासले नेपालमा महिलाविरुद्धको हिंसा बढेको भन्दैं चासो व्यक्त गरेका छन्।
निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लागिरहेकै बेला विदेशी कूटनीतिक निकायबाट यस्तो प्रतिक्रिया आएको हो।
विज्ञप्ति जारी गर्नेमा संयुक्त राष्ट्रसंघको कार्यालय, नेपालस्थित बेलायत, अष्ट्रेलिया, फ्रान्स, नर्वे, स्वीट्जरल्याण्ड र फिनल्याण्डका दूतावास छन्।
शुक्रबार जारी संयुक्त विज्ञप्तिमा पीडितलाई न्याय प्रदान गर्न ध्यानाकर्षण गराइएको छ। यसका साथै पीडितको अधिकारका पक्षमा उभिन र महिलाविरुद्धको हिंसामा शून्य सहनशीलता अपनाउन सरकार आग्रह गरिएको छ।
यी दूतावासहरूले जारी गरेको विज्ञप्तिमा प्रष्ट रुपमा निवर्तमान सभामुख महरा प्रकरण भने उल्लेख छैन। तर महरा प्रकरणलाई नै संकेत गरिएको आधार भने पाउन सकिन्छ।
'सरकारले पीडित मैत्री अवधारणा अन्तर्गत पीडितलाई थप क्षति पुग्न नदिने मात्र नभई पीडितको सुरक्षामा पनि ध्यान दिनुपर्छ,' विज्ञप्तिमा उल्लेख छ, 'कुनै पनि प्रकारका लैगिंक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रष्ट सन्देश दिन चाहान्छौं।'
महरा प्रकरणमा 'पीडित' भनिएकी रोशनी शाहीमाथि बयान फेर्न महरा र नेकपाका कार्यकर्ताले दबाब दिएको बताइएका बेला कूटनीतिक निकायको यस्तो प्रतिक्रिया आएको हो।
‘जन्मजात शक्ति असन्तुलनकै कारण लैंगिक हिंसामा पीडित स्वयंले उजुरीसमेत गर्न नसक्ने अवस्था हुने’विज्ञप्तिमा उल्लेख छ।
निर्मला पन्त र माया विश्वकर्माको घटना उल्लेख गरिएको विज्ञप्तिमा लैंगिक हिंसाबारे नेपालले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय कानूनहरू पालना गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।