काठमाडौं- संविधानविद्हरुले निवर्तमान सभामुख कृष्णबहादुर महरा पुनर्बहाली हुने सम्भावना नरहेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै संविधानविद्हरुको यस्तो धारणा आएको हो।
संसद सचिवालयकी कर्मचारीसँग यौन दुर्व्यवहार गरेको आरोप लागेका महरा सभामुख पदबाट मुक्त भएको उल्लेख गर्दै पुनः सोही पदमा बहाली हुने सम्भावना नरहेको नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले बताएका छन्।
'सो प्रकरणमा पीडित भनिएकी रोशनी शाहीले बोली फेर्दैमा सो घटनाको अनुसन्धान प्रक्रिया रोकिँदैन। फौंजदारी कार्यविधिसंहिता अनुसार पीडित भनिएकी शाहीले प्रहरीको हटलाईन सेवामा आफू पीडित भएको जानकारी गराएपछि प्रहरीलाई अनुसन्धान गर्न बाटो खुलेको छ।'
नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले महरा प्रकरणको छानबिन प्रक्रिया नरोकिएपनि पीडित भनिएकी महिलाले अनुसन्धानमा नसघाए सो घटनाको सत्यतथ्य बाहिर आउन कठिन हुने बताए। पीडित भनिएकी महिला शाहीले डिएनए परीक्षण गर्न नदिए अनुसन्धानका लागि निवर्तमान सभामुख महरालाई दोषी करार गर्न अप्ठेरो हुने उनले बताए।
कार्यक्रममा बोल्दै संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले महराले पदबाट राजीनामा दिएसँगै सभामुख पद रिक्त रहेको बताए। सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार सभामुख पदको निर्वाचन हुनुपर्ने पनि बताएका छन्। संविधानले फरक दल र फरक लिंगलाई सभामुख र उपसभामुख हुनुपर्ने परिकल्पना गरेको उनको दाबी छ।
संविधानविद् ज्ञवालीले संविधानको परिकल्पना अनुसार दलहरुले सभामुखको निर्वाचन गराउँदा फरक दलका सभामुख र उपसभामुख बनाउनुको विकल्प नरहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।