प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि एक महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि अब के होला भन्ने प्रश्न पेचिलो बन्दै आइरहेको छ। तीनकुनेस्थित आफ्नो कोठामा आएर मदिराले लठ्ठ हुँदै महराले आफूलाई बलजफ्ती गरेको आरोप ती महिलाको छ।
पीडित भनिएकी महिलाले आफ्नो कोठामा रहेको महराको फुटेको चस्मा र जुत्ताको तलुवा मिडियासमक्ष प्रस्तुत गरेकी छिन्। ती सामग्री महराकै भएको उनको दाबी छ। आफ्ना शरीरभर लागेका निलडाम देखाउँदै उनले भनेकी छिन्, ‘प्रहरीले पनि मेरो कोठाको अवस्था खिचेर लगेको छ।’
तर, यो घटनालाई सुनियोजित रुपमा कठपुतली तयार पारिएको भन्दै खण्डन गरेका सभामुख महराले पछिल्लो समय सर्वत्र दबाब सिर्जना भएपछि राजीनामा दिएर अनुसन्धानलाई सघाउने मनस्थिति बनाएका छन्। उनको राजीनामाले मात्रै यो सिंगो परिघटना टुंगोमा पुग्दैन। यो घटनामा गहिरो र निष्पक्ष छानबिन तथा अनुसन्धान हुनुपर्छ।
सभामुख महरा र पीडित महिलाको पारिवारिक सम्बन्ध ०४७ सालदेखिको भनिएको छ। पारिवारिक रुपमा उनीहरु आवतजावत गर्थे भनिएको छ। तर, एक्कासि यति गम्भीर आरोप सतहमा आएपछि सभामुख महराले अनुसन्धानमा सघाउनुबाहेक अर्को विकल्प देखिँदैन। यद्यपि सम्बन्धका आयामहरुबारे पनि अनुसन्धानले नै केही स्पष्ट पार्ला।
घटनाको प्रारम्भमा प्रहरीले अनुसन्धानमा देखाएको उदासीनता र स्वयं सभामुख महराले ‘यो सामान्य घटना हो’ भन्दै पीडित भनिएकी महिलालाई टेलिफोनमै शान्त पार्न खोजेको कुरा बाहिर आएको एउटा भिडियोले स्पष्ट पार्छ। पीडित भनिएकी महिलाले आफूलाई सुरक्षा ‘थ्रेट’ रहेको सार्वजनिक गरिसकेकी छिन्। यस्तो अवस्थामा पीडित भनिएकी महिला र उनका परिवारका सदस्यको सुरक्षाको प्रश्न पनि महत्वपूर्ण बन्छ। त्यसैले यसबारे सुरक्षा निकाय सचेत हुन जरुरी छ।
बलात्कारको आरोप चानचुन आरोप होइन। त्यो पनि संवैधानिक निकायको प्रमुख जस्तो गरिमामय पदमा आसीन व्यक्तित्वलाई। आरोपको प्रकृति र अहिलेसम्म घटनाबारे सार्वजनिक भएका विवरणहरु हेर्दा यो विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयले यथाशीघ्र चासो देखाउनुपर्छ। महरासम्बद्ध राजनीतिक दलले पनि उनलाई राजनीनामा गरेर अनुसन्धानको मार्ग प्रशस्त गर्न सुझाउनुपर्छ।
यति मात्र होइन। राजीनामाले मात्र यो गम्भीर आरोपको निरुपण हुँदैन। कतिपय अवस्थामा निष्पक्ष अनुसन्धान र दोषीलाई कारबाहीको प्रक्रियालाई प्रभावित पार्न राजीनामा एउटा बहानाका रुपमा बाहिर आउन सक्छ। यसमा एउटा सामान्य नागरिकसरह सभामुख महरालाई पनि अनुसन्धानको घेराभित्र राख्नुपर्ने हुन्छ। त्यसैले यो घटनामा नागरिक समाज र मिडियाले पनि त्यत्तिकै तिख्खर चासो राख्नुपर्ने देखिन्छ।
गहिरो र निष्पक्ष अनुसन्धान भएपछि, दूधको दूध पानीको पानी थाहा हुन्छ। दोषी को हो र त्यसलाई कुन कानुन आकर्षित हुन्छ भन्ने पनि स्पष्ट हुन्छ। त्यसैले ढिलो नगरी यो गम्भीर परिघटनालाई अनुसन्धानको दायरामा लैजाऔं। न्याय नमरोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।