इटहरी- बासको टाटीले बारेको घर। त्यो पनि आधा जति भत्किसकेको छ। घरभित्र भए पनि बाहिरैबाट ग्यास लगायत भान्सामा समान देखिन्छन्। बाँकी रहेको टाटीमा माटोको लिउन उक्किन थालेको छ।
इटहरी उपमहानगरपालिका-१७ का अजिम मोहम्मदको घर पुग्दाको दृश्य हो यो। भैँसी बाँध्ने ठाउँ र उनी सुत्ने कोठाको दूरी मात्र एउटा बारले छेकेको छ। त्यसको पनि लिउन उक्किइसकेको छ।
भैँसी बाँध्ने नजिकै बोराले बेरेको जस्तो केही देखिन्छ। केही वर्षअगाडि 'एसओएस'ले दिएको शौचालय रहेछ। दुई वर्ष अगाडिसम्म यो प्रयोगमा थियो, छोरीका लागि भए पनि। तर, अहिले त्यसको मर्मत गर्ने तागत र पैसा नभएपछि बोराले बेरबार गरेर राखेका छन् उनले।
उनी स्वयम्का लागि भने शौचालयको कुनै काम छैन। बिहान उज्यालो हुन नपाउँदै उनी पैनीको किनारमा पुग्छन्। सानैदेखि खुला स्थानमा दिसा गर्ने बानी भएका कारण शौचालय छिर्दा गुम्सिए जस्तो लाग्छ उनलाई। त्यसैले उनको हरेक दिनको सुरुवात खुला ठाउँमा दिसा गरेर सुरु हुन्छ। सुरुमा केही दिन बानी बसाउन खोजे पनि नसकेपछि खुला ठाउँमै शौच गर्न थालेको उनी बताउँछन्।

अजिमको घरदेखि केही पश्चिममा पर्छ अम्सुल मोहम्मदको गाउँ। उनले पनि चर्पी बनाउने तयारी नगरेका भने होइनन्। पैसा नपुगेपछि त्यतिकै थन्किएका रहेछन्। अहिले उनको पनि दैनिकी खुला ठाउँमा दिसा गरेर नै सुरु हुन्छ। उनकी श्रीमती भने छिमेकीको शौचालय प्रयोग गर्छिन्। 'शौचालयमा बस्दा दिसानै नआउने भएपछि बाहिरै गर्न थालेको हुँ,' उनले सुनाए।
हनिफ मोहम्मदको पनि उस्तै कथा छ। तर, अरुलाई भन्दा सहज छ उनलाई। उनको घरै नजिक पैनी बग्छ। अरुलाई जस्तो टाढा धाउनुपर्ने बाध्यता पर्दैन उनलाई। अहिलेसम्म शौचालयको बारेमा केही नसोचेको बताउँछन् उनी। खान, लगाउन र छोराछोरी पढाउनै मुश्किल परेको बेला त्यतातिर सोच्न नपाएको उनी सुनाउँछन्। ‘छोरी बढ्दैछे। बुहारी पनि ल्याउने बेला भयो। अब बनाउनुपर्ने हो। तर, पैसा छैन,’ उनी भन्छन्।
प्रदेश १ कै केन्द्रमा रहेको इटहरी उपमहानगरपालिका भित्रको समस्या हो यो। हुनत इटहरी उपमहानगरपालिका आफैं सार्वजनिक शौचालयबिहीन छ। इटहरी बसपार्कमा बाहेक अन्य कुनै पनि स्थानमा सार्वजनिक शौचालय छैन। राजनीतिक तथा व्यवसायीहरुको निर्वाचनमा उठ्ने गरेको सार्वजनिक शौचालयमो मुद्दा बाँकी समयमा भने ओझेलमै रहन्छ। यसबाहेक जग्गा अभावको कारण देखाउँदै लामो समयदेखि इटहरीमा सार्वजनिक शौचालय बन्न सकेको छैन।
इटहरीसँगै रहेको सुन्दरहरैचाको पनि समस्या उस्तै छ। १ वर्ष अगाडिनै खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको उक्त नगरमा अहिलेसम्म एउटा पनि सार्वजनिक शौचालय छैन। सार्वजनिक मात्र होइन, निजी शौचालयको अभावमा नगरबासीहरुले खुला ठाउँमा दिसा गर्न बाध्य छन्। सुन्दरहरैचा-४ की आशिमा दर्जीको घरमा अहिलेसम्म शौचालय छैन। घर छेवैमा रहेको बाँसघारीलाई शौचालयको रुपमा प्रयोग गर्छन् आशिमाको परिवार।

‘रातको समयमा सर्पको डर हुन्छ, उज्यालोमा मान्छेको डर,’ उनी भन्छिन् , ‘नगरपालिकाले शौचालयका लागि सामग्री दिन्छु भनेको छ, तर दिएको छैन।’
नेपाल एसियामै पहिलो खुला दिसामुक्त देश घोषणा भएको छ। सरकारले खुला दिसामुक्त घोषणा गर्दैगर्दा कहिले रात पर्ला र शौच गरौला भनेर पर्खिने नेपालीहरु त्यतिकै छन्। जनतामा शौचालयको प्रयोगबारे जानकारी नहुँदा र सरकारको अपूर्ण तयारीले घोषणा घोषणामै सीमित देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।