राजविराज- हिन्दू नेपालीको महान् पर्व दसैं सुरु भएको छ। अधिकांश ठाउँमा दसैं, तिहार, छठलगायतका चाडपर्व लक्षित सरसफाई कार्यक्रम चलिरहेका छन्। तर, सप्तरीको राजविराज नगरपालिकाले भने नियमित जम्मा हुने फोहोरसमेत व्यवस्थापन गर्न नसक्दा वातावरण दुर्गन्धित बन्दै गएको छ।
समस्या पुरानै हो, सुँगुर तथा अन्य छाडा चौपाया नियन्त्रणमा समेत नगरपालिका असफल छ। पशुचौपाया छाडा नछोड्न माइकिङ गराउँदासमेत पशुधनीले अटेर गरेपछि फोहोर मात्र नभई सवारी दुर्घटनाको सम्भावना पनि उत्तिकै बढेको छ।
बस्ती नजिकैका मूल सडकमा फोहोर ल्याएर थुपार्ने, फोहोर फाल्ने समयको पालना नगर्ने र नगरपालिकाले पनि जथाभावी फोहोर फाल्नेलाई कडाई नगरेका कारण सरसफाईको अवस्था बिग्रँदो छ। नगरपालिकामा ५० जना सरसफाईकर्मी रहे पनि समयमा फोहोर नउठ्ने गरेको स्थानीयवासीको गुनासो छ।
वडा नम्बर ७ स्थित हटियाका व्यवसायी महेन्द्र साहले पसल छेउमै थुप्रिने गरेको फोहोरका कारण बसिनसक्नु भएको बताए। ‘एउटाले ल्याएर फोहोर थुपारेपछि आसपासका अरुले पनि सडक छेउमै फोहोर फाल्ने गरेका छन्,’ उनले भने, ‘जथाभावी फोहोर नफाल्न नगरपालिकाले कडाई गर्न नसक्दा दुर्गन्धका बीच व्यवसाय गर्नु पर्ने बाध्यता छ।’
नगरपालिकाका अधिकांश नाला खुला रहेका कारण प्लाष्टिकजन्य फोहोर, फुटेका शिसासमेत त्यहीँ फाल्ने गरिएको छ। नगरपालिकाका सरसफाईकर्मीले नालाको फोहोर निकालेर छेउमा थुपारेपछि सुगुरले चारैतिर छरिदिने समेत गरेका कारण झन् समस्या थपिएको अर्का व्यवसायी सचिन्द्र दास बताउँछन्। ‘एक त निर्दिष्ट ठाउँमा फोहोर राख्ने व्यवस्था छैन,’ उनले भने, ‘त्यसमाथि सुँगुरलगायतका छाडा चौपायाले अझै फोहोर गर्ने गरेका छन्।’

नगरपालिकाले सरसफाईका लागि ४/५ जनाका दरले १६ वटै वडामा सरसफाईकर्मी खटाएपनि फाहोर उठाउने साधन अभावका कारण थुपारिएको फोहोर पनि समयमा उठ्न सकेको छैन। नगरपालिकासँग ५ वटा ट्याक्टर र २ वटा टिपर रहेको र १६ वटै वडामा फोहोर उठाउन अपुग भएको कार्यालयले जनाएको छ।
फोहोर उठ्ने समयभन्दा अगाडि फोहोर ल्याउनु पर्नेमा उठिसकेपछि पनि फोहोर ल्याएर थुपार्ने गरेका कारण सरसफाईको अवस्थामा सुधार आउन नसकेको नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादव बताउँछन्।
राजविराजमा फोहोरको डंगुर, सुगुरलगायतका छाडा पशु चौपायाको आतंक नौलो विषय भने होइन। वर्षौंदेखि यो समस्याबाट राजविराजवासी आक्रान्त छन्। फाहोर र छाडा सुगुरकै कारण फैलिएको जापानिज इन्सेफ्लाइटिसले २०५३ साउन ५ गते तत्कालीन राजविराज-९ तेतरीगाछिका बालक रमण देवको मृत्यु भएको थियो।
जापानीज इन्सेफ्लाइटिस फैलाउने लामखुट्टे फोहोर र सुँगुरबाटै आउने भएकाले नगरमा फेरि यस्ता घटना नहोलान् भन्न सक्ने अवस्था छैन। अव्यवस्थित फोहोर एवम् छाडा सुंगुर नियन्त्रणको सम्बन्धमा पुनरावेदन अदालत राजविराजले राजविराज नगरपालिकालाई अन्तरिम आदेश समेत जारी गरेको छ।

पुनरावेदन अदालतका निमित्त मुख्य न्यायाधीश कुमार चुडाल तथा न्यायाधीश उमेशकुमार सिंहको संयुक्त इजलासले सो आदेश गरेको थियो। अधिवक्ता कौशल किशोर दत्तले फोहर र छाडा सुगुरको कारण राजविराज नगरपालिकामा जापानिज इन्सेफ्लाइटिस रोगले बालकको मृत्यु भएको अवस्था देखाउँदै दिएको निवेदन उपर अदालतले सो आदेश गरेको हो।
आदेशमा सुंगुरबाट इन्सेफलाइटिस रोगको संक्रमण हुने भएकोले र यसले महामारी समेत ल्याउन सक्ने हुँदा छाडा सुंगुर एवम् गाईवस्तुहरु निश्चित तोकिएको क्षेत्र, घर वा काञ्जिहाउसमा राखी नियन्त्रणमा लिई सचेत गराउन र आवश्यकताअनुसार सम्बन्धित धनीलाई प्रचलित कानून बमोजिम दण्ड दिने प्रक्रिया अवलम्बन गर्न/गराउन भनिएको छ। तर, हालसम्म उक्त आदेशको कार्यान्वयन हुन सकेको छैन।
डम्पिङ साइट अर्को समस्या
नगरपालिकाले सरसफाईकै लागि हरेक वर्ष करिब २५ लाख रुपैयाँभन्दा बढी खर्च गर्छ। सरसफाईकर्मीका अनुसार नगर क्षेत्रभित्र दैनिक १० देखि १२ टन फोहोर उत्पादन हुन्छ। जस मध्ये मुस्किलले ८ टन फोहोर व्यवस्थापन भएपनि बाँकी फोहोर उठाउनै नसकेको उनीहरु बताउँछन्।
फोहोर विसर्जनका लागि डम्पिङ साइटको निर्धारण गर्न नसक्नु राजविराजको अर्को ठूलो समस्या हो। आर्थिक वर्ष ०६६/०६७ देखि हरेक नगरपारिषदले फोहर विसर्जनका लागि डम्पिङ साइटको व्यवस्था गर्ने निर्णय गर्दै आएको छ। तर, हालसम्म पनि त्यस्को व्यवस्था हुन सकेको छैन।

नगरपालिकाले वडा नं १० को बिरौलमा रहेको सार्वजनिक जग्गामा डम्पिङ साइट बनाउने तयारी गरे पनि त्यहाँ रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण हुने भएपछि डम्पिङ साइटको योजना अन्यौलमा परेको छ। डम्पिङ साइट अभावका कारण नगर क्षेत्रभित्रैको भलुवाई खोलाको आसपासमा लगेर फोहोर विसर्जन गर्ने गरिएका कारण बस्तीमा दुर्गन्ध बढेको छ।
नगरपालिकाका सूचना अधिकारी मनोजकुमार यादवले सरसफाईका लागि नगरवासीको पनि सकारात्मक सहयोग आवश्यक रहेको भन्दै जथाभावी फोहोर फाल्ने प्रवृत्ति नरोकिँदा चाहेर पनि सुधार गर्न नसकिएको विवशता सुनाए। ‘फोहोर उठाउने कर्मचारी सम्बन्धित स्थानमा पुग्नुभन्दा अगावै घरमा रहेको फोहोर ल्याएर राखिदिन हामीले पटकपटक आग्रह गरेका छौं,’ उनले भने, ‘तर त्यसको पालना नगरिँदा हाम्रो एकल प्रयासले मात्रै सरसफाईको अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन।’
सरसफाइ व्यवस्थित गर्न नगरपालिकाले ट्याक्टर खरिदका लागि ७५ लाख रुपैयाँ बजेट छुट्याएको र डम्पिङ साइट बनाउन जग्गा खोज्ने कार्य भइरहेको यादवको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।