काठमाडौं- विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवलाई तत्काल कारबाही गर्न सोही गाउँपालिकाका वडाध्यक्षहरुले माग गरेका छन्।
‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अध्यक्ष यादवले आर्थिक हिनामिना गरेको दाबी गर्दै विष्णु गाउँपालिकाका ५ जना वडाध्यक्षले कारबाही गर्न माग गरेका हुन्।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले सम्बन्धित निकायले गाउँपालिकाका अध्यक्ष यादवमाथि कार्वाही नगरे न्यायका लागि अदालत जान बाध्य हुने चेतावनी पनि दिए।
विष्णु गाउँपालिका-३ का वडाध्यक्ष रामप्रवेश साहले आर्थिक हिनामिनामा संलग्न गाउँपालिका अध्यक्ष यादवमाथि कारबाही नभए अदालत तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा न्यायका लागि जान बाध्य हुने बताए।
'आफ्ना मान्छेलाई मात्रै गाउँपालिकाको बजेटले पोस्ने काम अध्यक्ष यादवबाट भएकाले पनि आफूहरुले न्यायको खोजी गर्दै काठमाडौं आउनु परेको छ,' वडाध्यक्ष साहले भने।
त्यसैगरी वडा नम्बर ५ का वडाध्यक्ष श्यामबाबु रायले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को बजेट समेत आफ्ना आसेपासेलाई बाँडेर हिनामिना गर्ने काम अध्यक्ष यादवले गरेकाले उनलाई कारबाही गर्न माग गर्नु परेको बताए।
पत्रकार सम्मेलनमा वडाध्यक्षहरूले सार्वजनिक खरिद ऐनको समेत पटक–पटक उलंघन गर्ने काम गरिरहेको भन्दै गाउँपालिकाका अध्यक्ष यादवप्रति आक्रोश पोखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।