२०७४ सालको निर्वाचन मेरा लागि सजिलो निर्वाचन थिएन। मेरो निर्वाचन(काठमाडौं-४) क्षेत्रमा तत्कालीन एमाले र माओवादी यथेष्ट प्रभाव राख्ने पार्टी थिए। ती दुई पार्टीको एकीकरण भएकाले अंकगणीतीय हिसाबले पनि निर्वाचन जटिल बनेको थिए।
अप्ठ्यारो यस कारण पनि थियो कि, राजधानीवासीहरु कांग्रेससँग खुसी पनि थिएनन्। म यसै निर्वाचन क्षेत्रको सांसद भएकाले स्वभाविक रूपमा मसँग पनि गुनासाहरु थिए। कडा मिहिनेत गर्नुपर्छ भन्ने थाहा थियो। त्यसको लागि एकल प्रयासले मात्रै हुने थिएन। मलाई क्षेत्रका साथीहरुबाट सहयोग मिलेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिदैं गर्दा संसदमा निस्केको आवाजले थोरै सांसद रहेका कांग्रेसका सांसदको मुटुको धड्कन बढेको अवस्था थियो। एक प्रकारको भय र प्रधानमन्त्रीप्रतिको चरम विश्वास पनि थियो। अपेक्षा पनि थियो। त्यसै दिन संसदमा बोलेर निस्कदै गर्दा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अलि पर पुगेपछि फेरि फर्केर आउनुभयो। र, विस्तारै हात समाएर विस्तारै भन्नुभयो, ‘तपाईंले आज राम्रो बोल्नुभयो।’ प्रधानमन्त्रीले सिर्जना गरेको भय र विश्वासले कसैले आवाज निकाल्न सक्ने अवस्था थिएन।
प्रतिपक्षले झक्झक्याउने, दबाब दिने, सही निर्णयको लागि प्रभावित गर्ने हो। कतिपय सन्दर्भमा प्रतिरोध गर्ने हो। प्रतिपक्षले आफ्नो भूमिका सही ढंगले गर्न सकेन भने सत्तापक्षले पनि आफ्नो काम सही ढंगले गर्न सक्दैन। संसदमा हेर्दाहेदै प्रधानमन्त्रीको आवाजमा ५/६ महिनामै टेबल ठोक्नेका संख्या घट्दै गयो। अहिले आवाज सुनिन्न। प्रधानमन्त्रीको बोलीमा टेबल ठोक्नेको संख्या घट्न धेरै समय लागेन। त्यस्तो अवस्था बन्नुको कारण छ।
पार्टी बन्दै गर्दा इतिहास हुन्छ, विचार हुन्छ। परम्परा र पद्धति हुन्छ। लक्ष्य र कार्यक्रम पनि हुन्छ। नेपाल कम्युनिस्ट पार्टीको सन्दर्भमा दुई पार्टीबीच वर्षौं छलफल भएर लक्ष्य किटान गरी नेकपा बनेको होइन। भरतपुरको निर्वाचनमा कांग्रेस र माओवादी मिलेर चुनावी गठबन्धन भयो। त्यसपछि माओवादीलाई लाग्यो–कांग्रेसको मतदाता जब्बर हुन्छन्। रुखभन्दा अर्को चिन्हमा भोट हाल्न उनीहरुलाई सजिलो नहुने उसले बुझ्यो।
एमालेले के सन्देश के प्राप्त गर्यो? कांग्रेस र माओवादीबीच गठबन्धन भई निर्वाचन लड्यो भने उसले हार बेहोर्ने बुझ्यो। प्रचण्ड आफैंलाई निर्वाचन हार्ने डर र प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री कहिल्यै हुन नपाउला भन्ने डरका कारण एकता भयो। ती दुईबीचमा भएका डरको जगमा एकता भएर बनेको हो नेकपा। सिद्धान्त, विचार, कार्यक्रमले एकता भएको होइन। सिद्धान्तको आधारमा बनेको भए अहिले आएर सिद्धान्त खोज्नुपर्ने थिएन। पार्टी एकता भएको डेढ वर्षपछि आएर अहिले आफ्नो सिद्धान्त खोजिरहेको छ। माओ, मार्क्स, लेनिनपछि अब चीनियाँ राष्ट्रपतिको सिद्धान्त अंगाल्न लागेको छ। त्यसलै, यो पार्टी बन्नुको तात्पर्य नै अंकगणितका लागि हो।
सरकार अंकगणितमा बलियो छ। तर काम गर्न सकेन। एकपछि अर्को गल्ती गर्दै गयो। गल्ती सच्याउन सरकारले कहिले पनि चाहेन। गल्ती गर्दै जाँदा वर्तमान सरकारले तीन ठाउँमा हात हाल्यो। सरकारले अदालतमाथि तरबार झुन्ड्याएको छ। दायाँबायाँ गरिस् भने मसँग दुई तिहाई छ भनी तर्साएको छ। संवैधानिक निकायलाई एकपछि अर्को प्रहार गरी कमजोर बनाएको छ। संसदलाई सरकारले आफ्नो छाया बनाएको छ। प्रधानमन्त्रीको आदेश मैले पालना गरिरहेको भनी सभामुखले नलजाइकन भनिरहनुभएको छ।
विधिको शासन र विधिबाट शासन दुई फरक कुरा हुन्। कानुन बनाउँदै गर्दा संविधानका आधारभूत मूल्यमान्यता भत्काउन पाइँदैन। बहुमतबाट विधेयक पारित गर्ने नाममा व्यक्तिको स्वतन्त्रतामाथि प्रहार गर्न खोजिएको छ। मिडिया काउन्सिल विधेयक, पैतृक सम्पति हस्तान्तरणमा लाग्ने करले व्यक्तिको नैर्सगिक अधिकार खोस्न खोज्दैछ। व्यक्तिले कमाएको सम्पति छोरानाति हुँदै पुस्तान्तर हुँदै गर्दा सम्पतिमा लगाउने करबाट सम्पत्ति राख्नु वा नराख्नुमा बराबर हुन्छ। यस्ता दर्जनौं कानुन सरकारले बनाउँदैछ।
जनतालाई कांग्रेसले प्रतिपक्ष बनाएको संसदमा थपडी बजाउन होइन। सरकारका गलत कदमको प्रतिरोध गर्न हो। आवश्यक परेका बेला प्रश्न गर्ने हो। दबाब पनि समयसमयमा दिनुपर्छ।
प्रधानमन्त्रीले लगातार भन्नुभएको छ- मन्त्रीहरुको कार्यशैलीबाट चित्त बुझेको छैन। उहाँले मन्त्रीहरुलाई जस्ट पास भन्नुभएको छ। नागरिकको तर्फबाट मूल्यांकन गर्दा जस्ट पास होइन। सबै फेल भएका छन्।
राजनीतिक अधिकारका लागि हामी विगतमा किन लड्यौं? नागरिक स्वतन्त्रताका लागि लड्यौं। अब त कानुन बनाएर नागरिकको स्वतन्त्रतामा बन्देज लगाउन खोजिएको छ। व्यक्तिको कुरा छोडेर चितवनमा ज्ञानेन्द्र शाहीको घटना हेरौं। सरकारका संरक्षितबाटै आक्रमण भएको छ। जनताको सुरक्षा गर्नुपर्ने सरकारबाट असुरक्षित हुने अवस्था छ। राणा, पञ्चायत र राजासँग किन हामी लड्यौं? त्यही स्वतन्त्रताको लागि हो। आज त्यो स्वतन्त्रता कानुन बनाएर खोसिँदैछ। सरकारमा बसेर खोसिँदैछ। अधिनायकवाद पहिले जस्तो बन्दुक लिएर आउँदैन। तानाशाहहरु बाजा बजाएर आउँदैनन्। चुनावबाट आएर कानुन बनाई एकपछि अर्को जनताको अधिकार खोस्छन्। बोल्ने हक, सम्पतिको हक सबै खोस्छन्। प्रतिवाद गर्नेलाई राजावादी भन्छन्, प्रतिगमनकारी भन्छन्। सरकार फासिस्ट हुने संकेत गर्दैछ।
(काठमाडौं-४ बाट निर्वाचित सांसद थापाले दसैंलगायत चाडका पूर्वसन्ध्यामा आयोजना गरेको शुभकामना आदान-प्रदान तथा चियापानमा गरेको सम्बोधनको सम्पादित अंश)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।