बैतडीको मेलौली नगरपालिका-५ की लक्ष्मी दयालका दुई छोरी डडेल्धुरा कारागारमा।
डडेल्धुरा- डडेल्धुरा सदमुकाम नजिकै कीर्तिपुरमा तारबार र ठूलो पर्खाल भएको गोलघर (कारागार) भित्र दुईवटा फरकफरक सेल (कोठा)छन्। यसमध्ये ठूलो भवनमा पुरुष कैदी बस्छन्। जस्ता पाताको छानो भएको अर्को सेलमा भने ७ जना महिला बस्ने गरेका छन्। यी मध्ये तीन जना महिला बालबच्चासहित छन्। उक्त सेलमा आमाका साथ ४ जना बालबालिका कैद भुक्तान गरिरहेका छन्। अबोध बालबालिकाले बिना दोष सजाय भोगेजस्तै बन्नु परेको छ।
चार वर्षीय रेजिना दयाल भर्खरै मात्र केही अक्षर चिन्न थालेकी थिइन्। अ, आ, क, ख र ए, बी, सी आदि मात्र सिकेकी थिइन्। तर दुर्भाग्य! बहुविवाहको मुद्दा लागेर जेल चलान भएकी आमा लक्ष्मी दयालसँगै उनले पनि डडेल्धुराको सुधारगृहमा कैदी जीवन बिताउनु परेको छ।
बैतडीको मेलौली नगरपालिका-५ बस्ने लक्ष्मी दयालमाथि बहुविवाहको मुद्दामा अदालतले दोषी ठहर गरी कारागार चलान गरेको छ। योसँगै रेजिनाको विद्यालय पढ्ने सपना रोकिएको छ। अदालतको फैसलाअनुसार आमासँगै कारागार आएकी रेजिना अझै केही समय यहीँ बस्नुपर्नेछ। रेजिना आमासँगै आकाशबाहेक केही नदेखिने गरी नजरबन्द भएकी छन्।
‘पढ्दै गरेकी छोरीलाई लिएर जेल आउनुपर्यो,’ आमा लक्ष्मीले भनिन्, ‘भर्खर कक्षा १ मा भर्ना गरेकी थिएँ। यसको पढाई बिग्रियो।’ सुधारगृह भित्र उनले पढ्ने वातावरण छैन? भनेर प्रश्न गर्दा उनी भन्छिन्, ‘अहँ छैन। म नै अलिअलि अभ्यास गराउँछु। छोरीको पढाइको चिन्ता लाग्छ। यहाँबाट बाहिर निस्कने बेलासम्म छोरीले पढ्न नपाउने भइन्,’ उनले निरास हुँदै भनिन्, ‘कुनै व्यक्ति वा संस्थाले छोरीलाई पढाइदिन्छ कि भन्ने आशा छ।’
आमा कैदी भएकै दिन बुवा पनि कैदी भएका थिए। सोही मुद्दामा रेजिनाका बुवा बैतडी कारागारमा छन्। ‘रेजिनाका बाबा पनि जेलमा छन्। माइतीतिरका सबै भारतमा बस्छन्। नेपालमा कोही छैनन्। मलाई मुद्दा हाल्ने उहाँकी जेठी श्रीमती (सौता) पनि पोइला गइन् भन्ने सुनेकी छु,’ उनले भनिन्, ‘यता छोरीको चिन्ता लाग्छ अब कसैले छोरीलाई पढाइदिन्छ भने म पठाइदिन्थें।’
लक्ष्मीका साथमा २ छोरी पनि छन्। कैद भुक्तान समय १ वर्ष रहेको र अब केही दिनमै उनी छोरीसहित कारागार मुक्त हुने डडेल्धुरा कारागारका जेलर शिवराज भट्टले बताए। उनले भने, ‘लक्ष्मीका दुई छोरी छन्। बहुविवाहको मुद्दामा आएकी हुन्। रासनबाहेक अन्य सुविधाको व्यवस्था छैन।’ बैतडी कारागारमा महिला सेल नभएपछि उनलाई डडेल्धुरा पठाएको जेलर भट्टले बताए। अहिले डडेल्धुरा कारागारमा ७ जना महिला कैदी रहेको जानकारी उनले दिए।
रेजिना मात्र नभई अन्य तीन जना बालबालिका पनि सोही सुधार गृहमा बस्छन्। उनीहरूको विद्यालय जाने उमेर पुगेको छैन। 'वर्षाको समय भएकाले सबै बालबालिकालाई ज्वरो र रुघाखोकीले सताएको छ,' २ वर्षको छोरा काखमा च्यापेकी आलिताल गाउँपालिकाकी भावना नेपालीले भनिन्, ‘टिनले बनेका घरमा बस्नुपर्छ। कहिले छोरा बिरामी हुन्छ कहिले आफू। बहुविवाह केसमा म पनि एक बर्षको लागि आएकी छु। श्रीमानको बारेमा बोल्न चाहन्नँ।’
आमासँगै आउने बालबच्चालाई बालमैत्री वातावरण भए सहज हुने उनीहरूको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।