डडेल्धुरा- सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा छुटमा परेका मुक्त हलिया, कमैया तथा सुकुम्बासीको तथ्यांक संकलन गर्ने नाममा एक गैरसरकारी संस्थाले लाखौं रकम संकलन गरेको पाइएको छ।
छुट हलिया मुक्त केन्द्रीय समिति कञ्चनपुरले छुट मुक्त हलिया, कमैया तथा सुकुम्बासीबाट विभिन्न बहाना बनाई घरजग्गा दिने आश्वासनमा प्रतिव्यक्ति २ हजार ३ सय ५० रुपैयाँ शुल्क असुलेको प्रमाण भेटिएका छन्।
संस्थाको विधानमा कञ्चनपुर जिल्लामा मात्र कार्यक्षेत्र रहने भने प्रस्ट उल्लेख भए पनि विधानविपरीत अन्य जिल्लामा शाखा कार्यालय खोलेर काम भइरहेको हो। उक्त संस्थाले डडेल्धुरा लगायतका जिल्लामा पनि शाखा खोलेको छ।
संस्थाले अहिले पहाडी ७ जिल्लाका १२ सयभन्दा बढी जनाको तथ्यांक संकलन गरेको हलिया मुक्ति जिल्ला समितिका केन्द्रीय सचिव कृष्ण विकले जानकारी गराए। उनका अनुसार कञ्चनपुरमा मात्र कार्यक्षेत्र हुनेगरी दर्ता भएको संस्थाले ९ जिल्लामा काम गर्ने विधान बनाइसकेको छ भने कार्यक्षेत्रका सबै स्थानीय तथा जिल्ला प्रशासनहरुलाई पत्र पठाएको छ। उनले भने, ‘हाम्रो संस्थाको पुरानो विधानमा त्यो थियो, अहिले हामीले आवश्यकता अनुसार परिवर्तन गरेका हौं। रकम तिर्न नसक्नेको पनि नामावली संकलन गरिएको हो।’
पहाडी जिल्ला डोटी, बैतडी, अछाम, बाजुरा, बैतडी दार्चुलाका गरी १२ सय ४० जनाभन्दा बढीको नाम संकलन गरिसकेको सचिव विकको भनाइ छ। जसअनुसार प्रतिव्यक्ति २ हजार ३ सय ५० का दरले जम्मा २९ लाख १४ हजार असुल भएको देखिन्छ।

उनीहरुले वास्तविक छुट हलिया, कमैया तथा सुकुम्बासीको तथ्यांक संकलन गर्नुभन्दा पनि पैसा भएकाको मात्र नाम संकलन गरेको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ डडेल्धुराका अध्यक्ष सुन्दर जैरुले बताए। उनले भने, ‘जुन घरमा शाखा कार्यालय भनेर राखेको छ। त्यो घरको मालिकलाई छुट मुक्त लिस्टमा राखिएको छ। त्यो घरबेटी कसरी मुक्त हलिया, सुकुम्बारीको नाममा पर्यो?’
संस्थाले सहयोग २ सय, समूह बचत ५ सय, संस्थाको सदस्यता शुल्क १ हजार, फाराम शुल्क तथा अन्य शीर्षक गरी एक व्यक्तिबाट २ हजार ३ सय ५० असुल्ने गरेको हलिया मुक्ति समाज डडेल्धुरामा निर्वतमान अध्यक्ष तुलाराम सार्कीले बताए।
रातदिन काम गरेर बिहानबेलुकी हातमुख जोड्ने मुक्त हलियासँग २ हजारभन्दा बढी रकम नभएपछि तथ्यांकबाट छुट्ने डर रहेको हलिया मुक्ति समाजका निवर्तमान अध्यक्ष सार्की बताउँछन्। ‘छुट मुक्त हलियाको तथ्यांक संकलन गर्नु राम्रो पक्ष हो तर यस्तो लुट मच्चाएर फेरि पनि बलिया र पैसावालको नाम संकलन भइरहेको छ,’ उनले भने, ‘हिजो चौतारीमा बसेर मुक्त हलियाको तथ्यांक संकलन भयो, कैयौं छुटे। आज पैसा हुनेवालाहरु लिस्टमा चढेका छन्। गरिबहरु छुट्दै जानेछन्।'

यस्तो गतिविधि रोक्न भन्दै जिल्ला हलिया मुक्ति समाजले जिल्ला प्रशासन कार्यालय डडेल्धुरालाई कारबाहीका लागि पत्रसमेत लेखेको थियो। उक्त पत्रमा छुट हलिया मुक्ति केन्द्रीय समिति कञ्चनपुरका नामबाट डडेल्धुरा जिल्लामा छुट हलिया मुक्ति जिल्ला समिति शाखा कार्यालय खोलेर मुक्त हलियाहरुको आधिकारिक संस्था जिल्ला हलिया मुक्ति समाज डडेल्धुरासँग कुनै समन्वय नभएको उल्लेख छ।
जिल्ला प्रशासन कार्यालबाट समेत अनुमति नलिई छुट मुक्त हलियाहरुबाट रकम असुली गरिएको भन्दै उक्त संस्थालाई कारबाहीको माग गरिएको छ।
के भन्छ मन्त्रालय?
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशले सो संस्थासँग भएको तथ्यांक पेस गर्न मात्र पत्र दिएको तर तथ्यांक संकलन गरेर दिनुस् नभनेको मन्त्री विनिता चौधरीका स्वकीय सचिव दीर्घ बिनाडीले प्रस्ट पारे। उनले भने, ‘हामीले त्यो संस्थालाई नयाँ तथ्यांक संकलन गर भनेर पत्र दिएको छैन। हामीसँग बजेट नै छैन त्यसका लागि। यो बदमासी हो।’

डडेल्धुरामा मुक्त हलिया २ हजारभन्दा बढी परिचयपत्रबाट नै वञ्चित रहेको तथ्यांक जिल्ला हलिया मुक्ति समाज डडेल्धुरासँग छ।
जिल्ला हलिया मुक्ति समाजका निर्वतमान अध्यक्ष तुलाराम सार्कीको नेतृत्वमा सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरीलाई मन्त्रालयमै पुगी ध्यानाकर्षणपत्र समेत बुझाइएको थियो।
रकम फिर्ताको सहमति
मन्त्रालयको पत्रको फरक व्याख्या गरी रकम संकलन गर्ने छुट हलिया मुक्त केन्द्रीय समिति कञ्चनपुरले हाल तथ्यांक संकलन स्थगित गरेको छ।
मन्त्रालयले तथ्यांक मात्रै उपलब्ध गराउन भने पनि पुन: तथ्यांक संकलन गरी जथाभावी रकम उठाइएको पाइएपछि स्थानीय प्रशासनले सो संस्थालाई तथ्यांक संकलनमा रोक लगाइसकेको छ।
चौतर्फी दबाबपछि उक्त संस्थाले रकम फिर्ता गर्ने पनि सहमति जनाएको छ। प्रशासनसँगको छलफलमा उक्त संस्थाका केन्द्रीय सचिव कृष्ण विकले उठाइएको रकम सात दिनभित्र फिर्ता गर्ने सहमति जनाएका हुन्।
'डडेल्धुरामा ५६ जनाको २ हजार ३ सय ५० का दरले रकम संकलन गरिएको थियो,' विकले भने, 'त्यो हामी फिर्ता गर्नेछौं।'
डडेल्धुराबाट उठाइएको रकम फिर्ता गरेपछि अन्य जिल्लामा पनि फिर्ता हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।