जनकपुर- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका महोत्तरी इञ्चार्ज रुपबहादुर कार्की तथा सेक्रेटरी भीमबहादुर आलेलाई अदालत परिसरबाटै प्रहरीले पुन: गिरफ्तार गरेको छ।
दुवै जनालाई महोत्तरी जिल्ला अदालतले बिहीबार साधारण तारेखमा छाड्ने आदेश दिए पनि हतकडीसमेत नखोली प्रहरीले उनीहरुलाई पुन: गिरफ्तार गरेको हो।
बर्दिवास नगरपालिका कार्यालयमा गत जेठ १३ गते कुकर बम राखेको आरोपमा प्रहरीले कार्कीलाई भदौ १३ गते बर्दिवासबाट तथा आलेलाई असोज २ गते गौशाला नगरपालिकाबाट गिरफ्तार गरेको थियो।
प्रहरीले दुवैविरुद्ध कृत्रिम विस्फोटक पदार्थ राखेको आरोपमा मुलुकी अपराध संहिता ०७४ को दफा १४० बमोजिम ३ वर्ष कैद र ३० हजार रुपैयाँ सजाय माग दाबीसहित मुद्दा दायर गरेको थियो। आरोपमाथि बिहीबार सुनवाइ गर्दै अदालतले बम दाबी गरिएको कुकर भित्र साबुन र मोबाइल बाहेक कुनै प्रकारको विस्फोटक पदार्थ फेला नपरेको हुँदा तत्काल प्राप्त सबुद प्रमाणका आधारमा कार्की र आलेलाई रिहाइको आदेश दिएको थियो।
जनही ३० हजार धरौटीसहित कार्की र आलेलाई साधारण तारेखमा छाडने आदेश दिइएको थियो।
'धरौटी समेत जम्मा गराइसकेको हुँदा दुवैजना अदालतबाटै रिहा हुने भनेर पर्खेर बसेका थियौं,' कार्कीका भाइ दीपेशले भने, ‘तर प्रहरीले ‘हामीले पनि क्लिन चिट’ दिनुपर्छ भन्दै दुवै जनालाई हतकडी सहितै जिल्ला प्रहरीमा लगेर पुनः थुनामा पठायो।'
महोतरीका एसपी श्याम कृष्ण अधिकारीले अन्य जिल्लामा घटेका घटनामा समेत उनीहरुको संलग्नताबारे अनुसन्धान गर्नु परेकोले दुवैलाई थुनामै राख्नु परेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।