जनकपुर- एक महिलालाई भारतमा लगेर बेचेको आरोपमा महोत्तरीको एकडारा गाउँपालिका–४ का सुरेश बैठाविरूद्ध उजुरी परेको छ।
भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल पीडित महिलाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो।
पीडित महिलालाई आरोपितले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी सहरमा लगेर बेचेकोमा त्यहाँबाट भागेर असोज ८ गते आफ्नो घर आएपछि उनका पति र आफन्तहरूले प्रहरीलाई जानकारी गराएका हुन्।
बैठाले प्रेममा फसाएर बिहे गर्छु भन्दै गत भदौ १४ गते नै घरबाट भगाएर लगेको र सीतामढीस्थित एउटा घरमा बन्द गरेर भागेको जिल्ला प्रहरी कार्यालयमा पीडितले बयान दिएकी छिन्।
घरबाट भागेर गइरहेकै बेला बैठाले बसमा नै आफूले लगाएको गरगहनासहित ५० हजार रुपैयाँसमेत लिनुका साथै सीतामढीको एउटा घरमा बन्द गरेर भागेको उनले बताइन्।
बैठाले छाडेर हिँडेपछि बाटो कुर्दाकुर्दै नआएकाले बाहिर निस्कन खोज्दा आफूलाई दुई–तीन जना पुरुष र महिलाले समातेर राख्दै 'तिमी बेचिएकी छौ, अब यहीँ बस्नुपर्छ र यहीँ तिम्रो बिहे हुन्छ' भनेकाले आफू बेचिएको थाहा पाएको उनले उनले सुनाइन्।
ती महिला भदौ १४ गतेदेखि हराएकाले सोही दिनदेखि नै उनका पति र आफन्तले खोजबिन गर्दै जिल्ला प्रहरीमा जानकारी गराएका थिए। अभियुक्त बैठाले नै उनलाई बेपत्ता बनाएको भन्दै बैठा उपर शरीर बन्धक मुद्दा दायर गर्न खोज्दा प्रहरीले मुद्दा दर्ता गर्न नमानेको पीडित पक्षले जनाएको छ।
अहिले महिला बेचिएको ठाउँबाट भाग्न सफल भई प्रहरीमा उजुरी दिएपछि बैठालाई गिरफ्तार गर्न प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।