राजविराज- साहुको ऋण तिर्न जग्गा बिक्री गर्न खोजिरहेका राजविराज नगरपालिका–१५, देउरी भरुवाका जागेश्वर यादव तीन दिनदेखि मालपोत तथा भूमिसुधार कार्यालय सप्तरीमा धाइरहेका छन्। शुक्रबार तेस्रो दिन धाउँदा पनि उनको काम भएको छैन।
छोरा गौतम चौधरीलाई वैदेशिक रोजगारीमा पठाउन जागेश्वरले साहुसँग ऋण लिएका थिए। छोराले पैसा पठाउला र ऋण चुक्ता गरौंला भन्ने सोच बनाएका यादवले अहिले ऋण तिर्नकै लागि जग्गा बेच्नुपरेको छ। दुई वर्ष बितिसक्दा पनि छोराको अत्तोपत्तो नलागेपछि २ कठ्ठा जग्गा बेचेर ऋण तिर्न लागेको उनले बताए।
तर, एक दिनमा हुनुपर्ने कामका लागि तीन दिनसम्म धाउँदा पनि काम नभएपछि दिक्क लागेको यादव बताउँछन्।
यसैगरी, छोरीका नाममा जग्गा नामसारीका लागि आएका विष्णुपुर गाउँपालिका ५, कट्टिका मो. तैयव पनि तीन दिनदेखि मालपोत कार्यालयमै छन्। कम्प्युटरमा इन्ट्री गर्नुपर्ने, मोठ भिडाउनुपर्ने, कित्ता काट गर्नुपर्ने लगायतका हरेक काममा कर्मचारीले एक/एक दिन लगाइदिएपछि धाउँदा धाउँदै हैरान भएको उनले गुनासो गरे।
‘पहिलो दिन मालपोतबाट कित्ताकाटका लागि नापी कार्यालयमा जाँदाजाँदै समय सकियो, दोस्रो दिन कित्ता काटमा लाग्यो,’ उनले भने, ‘तेस्रो दिन मोठ भिडाउँदा र कम्प्युटर इन्ट्री गराउँदा गराउँदै बैंकमा राजस्व बुझाउन नपाएर काम रोकियो, कर्मचारीले अझै एक दिन लाग्छ भनेका छन्।’
जागेश्वर र तैयव मात्र होइन, कार्यालयमै ढिलो गरी काम हुन थालेपछि मालपोत कार्यालयमा काम गराउन जाने बढीजसो सेवाग्राही यतिबेला यसरी नै हैरान हुने गरेका छन्। दिन थपिँदै जाँदा उनीहरूको निरासा बढ्दो छ।
कार्यालयमा दरबन्दी अनुसार कर्मचारी नहुनु, भएका कर्मचारी पनि प्रविधिमा पोख्त नहुनु तथा छिटो/छरितो सेवा दिने भनेर अनलाइन सिस्टम सुरु गरिए पनि परम्परागत काजगी प्रक्रिया छोड्न नसक्दा कार्यालयमा सेवाग्राहीको काम ढिलो हुने गरेको छ।
यसका अतिरिक्त कर्मचारीहरूले नियतवस पनि दुःख दिने गरेको कतिपय सेवाग्राहीहरूको गुनासो छ। कम्प्युटर र प्रविधिको समस्या देखाएर सेवाग्राहीसँग रकम असुल गर्न खोज्ने कर्मचारीका कारण पनि कतिपयले दुःख पाउने गरेको उनीहरूको गुनासो छ।
‘पैसा बुझाउन तयार हुनेले लाइन बस्नु नपर्ने र फटाफट काम हुने भएकाले एकै दिनमा काम सकेर जाने पनि छन्,’ एक सेवाग्राही भन्छन्, ‘तर, पैसा नदिनेहरूले लाइनमा बस्नुपर्ने बाध्यताले पनि काममा ढिलाइ हुने गरेको छ।’
कर्मचारीको दरबन्दी र अवस्था
मालपोत तथा भूमिसुधार दुवैतर्फ गरी कार्यालयमा २८ जनाको दरबबन्दी छ। प्रमुख मालपोत अधिकृतसहित १, शाखा अधिकृत ३, नायव सुब्बा ९ र खरिदार १७ जनाको दरबन्दी रहेको कार्यालयमा हाल शाखा अधिकृत २, नायव सुब्वा २ र खरिदार १२ जना गरी १६ जनाको दरबन्दी खाली छ।
जग्गा रजिष्ट्रेसनका लागि अनलाइन सेवा सुरु गरेपछि कार्यालयमा कर्मचारीको थप समस्या भएको कार्यालयका नायव सुब्वा शिवहरी पोखरेलले जनाए। ‘नयाँ प्रविधिको सुरुवात भयो तर प्रविधिको जानकारी भएका कर्मचारी भएनन्,’ उनले थपे, ‘आवश्यकता अनुसार कर्मचारीको पदपूर्ति नभएसम्म समस्या समाधानका अर्को उपाय छैन।’
ढिलासुस्तीको प्रमुख कारण रजिष्ट्रेसनमा दोहोरो प्रविष्टि
कर्मचारीको संख्या र दक्षता मात्र होइन, किर्ते, ढिलासुस्ति र घुस प्रकरण नियन्त्रणका लागि भन्दै गरिएको ‘अनलाइन सिस्टम’ नै यतिबेला ढिलासुस्तिको प्रमुख कारण बनेको छ।
२०७५ माघ १८ गतेदेखि मालपोत कार्यालय सप्तरीमा अनलाइन सेवा सुरु भएको छ। अनलाइन सेवाका लागि १३ थान कम्प्युटर र तत्कालका लागि ६ जना कर्मचारीको थप व्यवस्था गरिएको थियो।
अनलाइन सेवा उद्घाटन गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दवाडीले जग्गा प्रशासनलाई वैज्ञानिक, आधुनिक र व्यवस्थित बनाउन मद्दत पुग्ने बताएका थिए। ‘जग्गाको कारोवार गर्ने हाम्रो परम्परागत र झन्झटिलो प्रक्रिया छ। ढड्डा र लिखतहरू पुराना छन्,’ उनले भनेका थिए, ‘जग्गाको कारोबार र राजस्व एकिन गर्न पनि अनलाइन सेवा प्रभावकारी हुने छ।’

अनलाइन सेवा सुरु भएपछि सेवाग्राहीलाई नियतबस दुःख दिने, समय लम्ब्याउने, किर्ते गर्नेलगायतका कर्मचारीका कमजोरीको पनि अनुगमन गरिने उनले बताएका थिए। तर, अनलाइन सेवाका कारण सेवाग्राहीले झनै दुःख पाएको कर्मचारीहरू नै स्विकार्छन्।
नयाँ प्रविधिको सुरुवात गरिएपनि पुरानो र परम्परागत प्रक्रिया छोड्न नसक्दा कर्मचारीलाई समेत थप भार परेको नासु पोखरेल बताउँछन्।
पहिले कागजी काम मात्र गरी सेवाग्राहीलाई एकै दिनमा काम पूरा गरेर पठाउने व्यवस्था रहेकोमा अहिले कागजी कामलाई अनलाइनमा पनि एकैसाथ इन्ट्री गर्नुपर्ने भएका कारण बढी समय लाग्ने गरेको पोखरेलको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।