काठमाडौं- कृषि विकास बैंक ह्याक प्रकरणमा संलग्न भएको आरोपमा थप ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा महेन्द्र भट्ट, मालतीदेवी न्यौपाने भट्टराई र गणेश बस्याल रहेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले नेपाल लाइभलाई जानकारी दिए।
भट्टको महेन्द्रनगरस्थित कृषि विकास बैंकको शाखाको खातामा ४५ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको छ। त्यस्तै पर्वतकी मालतीदेवी न्यौपानेको खातामा २४ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको छ।
हिजो बिहीबार पनि प्रहरीले स्याङ्जाका रामकृष्ण भुसाललाई पक्राउ गरेको थियो। उनी प्रतीक्षा निर्माण सेवाको प्रोपाइटर हुन्।
उनी पनि बैंक ह्याक प्रकरणका नेपाली एजेन्ट भएको प्रहरीले जनाएको छ। उनको खातामा ६५ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको प्रहरीले जनाएको छ।
योसँगै बैंक ह्याक प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ।
अपराध महाशाखाको टोलीले यसअघि पक्राउ परेका १२ जनालाई बुधबार सार्वजनिक गरेको थियो।
घटनामा संलग्न भनिएका मुख्य अभियुक्त अफ्रिकन मुलका काले भनिने पिटर भने फरार छन्। उनकै योजनामा बैंक ह्याक गरेर व्यक्तिको खातामा रकम ट्रान्सफर गरिएको प्रहरीले जनाएको छ।
कृषि विकास बैंकबाट ह्याकरले ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरेर व्यक्तिको खातामा ट्रान्सफर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।