न्युयोर्क- वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण विश्वव्यापी चुनौतीका रुपमा सिर्जित संकट समाधान गर्न गम्भीर बन्न विश्व नेतालाई अपिल गरेका छन्।
समस्या समाधानका लागि समयमै उचित कदम नचालिए पृथ्वी र मानव अस्तित्व नै संकटमा पर्ने खतरा बढेको उनले विश्व समुदायको ध्यानाकर्षण गराए।
संयुक्त राष्ट्रसंघको आयोजनामा अमेरिकाको न्यूयोर्कमा जारी जलवायु कार्यशिखर सम्मेलनको ‘अ कल फर एक्सनः रेजिङ एम्बीसन फर क्लाइमेट एडप्टेशन एन्ड रेजिलियन्स र ‘कम्युनिटी रेजिलियन्स पार्टनरसिप प्रोगाम’ मा सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो अपिल गरेका हुन्।
मन्त्री बस्नेतले समस्याको दीर्घकालीन र दिगो समाधानका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए। जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुक बढी प्रभावित भएको चर्चा गर्दै उनले जलवायु परिवर्तन अनुकूलनका दिगो र प्रभावकारी कार्यक्रम तय गर्नुपर्ने स्पष्ट पारे।
‘जलवायु परिवर्तनले आज सांसारभर अकल्पनीय अवस्थाको सिर्जना हुन लागिसकेको छ,' मन्त्री बस्नेतले भने, ‘यसले पृथ्वीको स्थिरता र मानवजातिकै भविष्यमाथि नै खतरा निम्त्याउन सक्छ।’
उनले जलवायु परिवर्तनको असरबाट साना र गरिब मुलुकहरु बढी प्रभावित रहेको तथ्यमाथि विचार गर्न आग्रह गरे। ‘जलवायु परिवर्तनको नकारात्मक प्रभावले आज विश्व नै भयावह संकटमा छ। त्यसमा पनि गरिब र साना मुलुकहरु बढी प्रभावित छन्।
एसियाली विकास बैंकको आयोजनामा भएको अर्को कार्यक्रममा मन्त्री बस्नेतले नेपालले जलवायु अनुकूलन क्षमताको विकास र अनुसन्धानको कामलाई महत्वका साथ अघि बढाएको बताए। त्यसका लागि सरकारले विश्व समुदायका साथै नागरिक समाज, निजी क्षेत्र र राष्ट्रिय÷अन्तर्राष्ट्रिय साझेदारहरुसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।