रोल्पा- २०५२ फागुन १ गते माओवादीले सशस्त्र विद्रोह सुरु भएको जनाउ दिन रोल्पाको होलेरी लगायत देशका विभिन्न जिल्लामा आक्रमण गर्यो। पहिलो निसाना बनेका ती संरचनामध्ये रोल्पाको होलेरी द्वन्द्वकालीन समयमा पटकपटक चर्चामा आइरह्यो।
सशस्त्र युद्ध सुरु गर्दा तत्कालीन माओवादीले रुकुमको आठबिसकोट, सिन्धुलीको सिन्धुलीगढी र कालिकोटको राडी जिउला रोज्दा रोल्पाको होलेरी प्रहरी चौकी छनोटमा परेको थियो। २०५८ सालमा दोस्रो पटक पुनः सोही चौकी आक्रमण भयो। ७२ जना प्रहरीलाई नियन्त्रण लिएपछि तत्कालीन शाही नेपाली सेना र माओवादी सेना पहिलो पटक आमनेसामने भएका थिए। माओवादी सेनालाई घेराबन्दीमा पारेको सेनाले गोली हान्ने आदेश नपाउँदा पछि हट्नुपरेको घटनाले पनि सो स्थान चर्चित बन्न पुग्यो।
दुई पटकको आक्रमणले ध्वस्त भएको प्रहरी चौकी द्वन्द्वकालीन समयमा पहिचानहीन बन्यो। धेरै मान्छेको जिज्ञासाको विषय भए पनि आक्रमणले क्षतविक्षत चौकीको भग्नावशेष संरक्षणमा कसैको ध्यान जान सकेको थिएन।
स्थानीय तहको निर्वाचनपछि भने त्यहाँको सरकारले यसको संरक्षणमा जुटेको छ। 'शान्ति स्मारकसहित मिनीपार्क पनि बनाउँदै छौं,' गाउँपालिका अध्यक्ष बालाराम बुढाले भने, 'माओवादी लडाइँको स्केच, द्वन्द्वमा घटेका घटनाको सूचना, बगैंचा र आराम गर्नका लागि बेन्च बनाउने गरी काम थालनी गरेका छौं। पार्क छेउमा रहेको मन्दिरको समेत मर्मत गरी एकीकृत विकास र संरक्षण गर्नेछौं।'
होलेरी क्षेत्रमा पर्यटनको बहुआयामलाई मिनीपार्क सहितको स्मारकसमेत महत्वपूर्ण विषय हुन सक्ने उनी बताउँछन्। द्वन्द्वको सम्झना र पर्यटन दुवै हिसाबले स्मारक निर्माण अर्थपूर्ण हुने उनको अपेक्षा छ।
गाउँपालिकाको पर्यटन सम्पर्क व्यक्ति दीपक डिसीका अनुसार उक्त काम बहुवर्षीय योजनाको रुपमा कार्यान्वयन गरिनेछ। कुल ५० लाखको लागत अनुमान गरिएको उक्त योजनाका लागि चालु आर्थिक वर्षमा १० लाख विनियोजन गरिएको अध्यक्ष डाँगीले बताए। गाउँपालिकाको आफ्नै स्रोतबाट निर्माण गर्न लागिएको उक्त योजना अर्को आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको छ।
सोही चौकी आक्रमणमा फौजी र राजनीतिक कमान्डर कमिसार रहेका व्यक्तिहरु अहिले राज्यको महत्वपूर्ण जिम्मेवारीमा रहेका छन। उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णवहादुर महरा, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सोही प्रदेशका प्रदेशसभा सदस्य दीपेन्द्र पुन प्रत्यक्ष परोक्ष उक्त घटनामा संलग्न व्यक्ति हुन्।
माओवादीले तयार गरेका ७ डिभिजन लडाकुमध्ये ५ औं डिभिजनका लडाकु बसेको मुख्यालय पनि होलेरी नजिकै छ। नुवागाउँको दहवनमा रहेको सो स्थानका साथै सहायक शिविरको रुपमा उवा र तिला पनि होलेरी बजारदेखि नजिकको दुरीमा पर्दछन्।
मुहार फेर्दै होलेरी
द्वन्द्वले सुनसान बनाएको होलेरी शान्ति प्रक्रियापछि भने तंग्रिन थालेको छ। रुकुम पूर्व र पश्चिमोत्तर रोल्पाको भूगोल प्रवेशद्वारको रुपमा रहेको छ। दाङबाट सुरु भएको सहिदमार्ग होलेरी हुँदै रुकुमको चुनवाङ र रोल्पाको थवाङसम्म पुगेको छ। रुकुमबाट डोल्पासम्म जोड्ने रणनीतिक महत्व बोकेको सो सडक विस्तारसँगै होलेरीलाई कर्णालीसम्म जोड्ने सम्भावना छ।
दाङको घोराहीबाट ३० किलोमिटर दुरीमा रहेको होलेरी रोल्पा सदरमुकामबाट भने १०० किलोमिटर बढीको दुरीमा रहेको छ। घोराहीबाट होलेरी पुग्ने सडक कालोपत्रे भएका कारण पनि आवतजावतमा थप सहज भएको छ। बस यात्रामा बढीमा डेढ घन्टाको दुरी रहेको सो क्षेत्र प्रकृतिको अनुपम उपहारको रुपमा रहेको छ।
महाभारत पर्वत शृंखलाको शिखरमा रहेको मनमोहक होलेरी निकै सुन्दर देखिन्छ। घोराहीबाट सुरु भएको सहिदमार्ग हुँदै होलेरी जाने पर्यटकहरु बाटामा पर्ने बाह्रकुने ताल र कोइलाखानीको समेत स्थलगत अवलोकन गर्न सक्छन्। दाङको अत्यासलाग्दो तापक्रम, पर्यावरण र होहल्लाबीच छल्दै नागबेली सडकमार्गबाट होलेरी पुग्दा अद्भुत आनन्दको अनुभूति हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।