स्याङ्जा- स्याङ्जास्थित वालिङ नगरपालिकाले भारतीय सेनामा भर्तीका लागि प्रोत्साहन हुने गरी सूचना प्रकाशन गरेको छ। बिहीबार नगरपालिकाको फेसबुक पेजमा त्यस्तो सूचना जारी गरेको हो।
भर्तीका लागि कार्तिक ११ देखि २० समय तोकिएको उक्त सूचनामा उल्लेख छ। स्याङ्जासहित आसपासका ८ जिल्लाका लागि भर्ती खुलेको नगरपालिकाले जनाएको छ।
साथै, प्रहरी तालिम केन्द्र पोखरामा आवश्यक कागजातसहित सम्पर्क गर्न युवालाई आव्हान गरिएको छ।
भारतीय सेनामा भर्तीका लागि नगरपालिकाले क्षेत्राधिकारभन्दा बाहिर गएर सूचना प्रकाशित गरेपछि विवादित समेत बनेको छ।
इन्डियन सोल्जर बोर्डले छनोट गर्ने प्रक्रियालाई नगरपालिकाले सूचना प्रकाशित गरी सहयोग गरेको छ।
वालिङका मेयर दीलिप प्रताप खाँणले नेपाल लाइभसँग भने,‘नगरपालिकाले त्यस्तो सूचना हाल्न हुने/नहुने कुनै व्यवस्था छैन। तर, भारतीय सेनामा भर्ना हुनका लागि नगरपालिकाले विज्ञापन गर्न हुँदैन।’
इन्डियन सोल्जर बोर्ड वालिङ शाखाले नगरपालिका कर्मचारीलाई फेसबुक पेजमा भर्नाको जानकारी राखिदिन आग्रह गरेको बुझिएको छ।
खाँणले भने,‘सबैलाई जानकारी होस् भनी सोल्जर बोर्डका कर्मचारीले आग्रह गरेछन्। कर्मचारीले गरेको पोस्टलाई हटाउन लगाएँ।’
नगरपालिकाको पेजमा भारतीय सेनामा भर्ती हुने विज्ञापन गरिएको प्रति विरोध भएपछि उक्त सूचना हटाइएको छ।
यस्तो छ नगरपालिकाले राखेको सूचना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।