काठमाडौं- नेपालमा आप्रवासी कामदारको अधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।
राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा आगामी कार्तिक २६ गते देखि २८ गतेसम्म सम्मेलन आयोजना हुन लागेको हो।
दुई दिनसम्म चल्ने सम्मेलनको तयारीबारे आयोगले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।
आयोगका अनुसार सम्मेलनमा करिब २ सय जनाको सहभागिता रहने जनाएको छ।
सम्मेलनमा दक्षिण एशिया, एशिया प्रशान्त क्षेत्र, अफ्रिका, दक्षिण अमेरिका र युरोप क्षेत्रका राष्ट्रिय मानवअधिकार संस्थाका प्रमुख तथा आयुक्तहरू सहभागी हुने छन्।
त्यस्तै गन्तव्य मुलुकका सरकारी निकायकाप्रतिनिधिहरू, गैरसरकारी संस्थाका प्रतिनिधिहरू, आप्रवासन क्षेत्रका विज्ञहरूसमेत गरी ३२ देशबाट अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिता रहने छ।
आयोगले अफ्रिकी मुलुकबाट केन्या र मोरक्को, एशियाप्रशान्त मुलुकहरूबाट फिलिपिन्स, मलेशिया, कतार, युनाइटेड अबर इमिरेट्स,बहराइन, थाइल्यान्ड, मंगोलिया, अष्ट्रेलिया, न्युजिल्यान्ड, भारत, बंगलादेश, माल्दिभ्स, श्रीलंका, जर्मन, मोरिससलगायतका २० मुलुकहरूको सहभागिता सुनिश्चित भएको जनाएको छ।
सम्मेलनमा आप्रवासी कामदारहरूको मानवअधिकार संरक्षणका विषयमा छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।