तनहुँ- जिल्लामा सञ्चालन हुँदै आएका १२ क्रसर उद्योग मापदण्डविपरीत रहेका छन्। गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तय गरेको मापदण्ड अनुरुप अधिकांश उद्योग सञ्चालनमा छैनन्।
यसरी उद्योग सञ्चालन गर्नेमा सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिकामा छन्। खनाल गिट्टी बालुवा उद्योग, यशोशान्ति कङ्क्रिट स्टोन, थापा एग्रिगेट उद्योग, सिद्धेश्वर एग्रिगेट एन्ड कङ्क्रिट ब्लक उद्योग, महालक्ष्मी एग्रिगेट इण्डष्ट्रिज उद्योग, क्वालिटी एग्रिगेट एन्ड क्रसर उद्योग प्रालि, शिवशक्ति ढुङ्गा बालुवा क्रसर उद्योग, शिवशक्ति ढुङ्गा बालुवा क्रसर उद्योग छन्।
त्यसैगरी, म्याग्दे गाउँपालिकामा रहेका ढोरबाराही एग्रिगेट इण्डष्ट्रिज र सेती दोभान ब्लक एन्ड एग्रिगेट उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेका कार्यालयले जनाएको छ।
आबुखैरेनी गाउँपालिकामा एसजी रोडाढुङ्गा उद्योग र छिम्केश्वरी रोडा ढुङ्गा उद्योग पनि मापदण्ड पूरा नगरी सञ्चालनमा छ। जिल्लाका देवघाट र आबुखैरेनीका दुई क्रसर उद्योगले भर्खरै नयाँ मापदण्ड पूरा गरी दर्ता प्रक्रियामा ल्याएका घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ।
ढुङ्गा, गिट्टी, बालुवा, माटो, चट्टानको उत्खनन र सङ्कलन गर्दा पहाडी क्षेत्रमा तालतलैया र धार्मिक महत्वका पोखरीदेखि ५ सय मिटर बाहिर हुनुपर्ने, हाइटेन्सन लाइनबाट ५ सय मिटर बाहिर हुनुपर्ने, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय रहने स्थानबाट ५ सय मिटर बाहिर हुनुपर्ने प्रावधान छ।
यहाँ सञ्चालित कुनै पनि क्रसर उद्योगले मापदण्ड पूरा नगरी सञ्चालन गरेकाले मापदण्ड पूरा गर्न निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले बताए। मापदण्ड पूरा नगरी सञ्चालन गरिएकाले ती क्रसर उद्योगले विसं २०७२ देखि नवीकरणसमेत गरेका छैनन्।
उद्योग बन्द गर्दा विकास निमार्णका काम प्रभावित हुने हुँदा चाँडै नै नयाँ मापदण्डअनुसार सञ्चालन गर्न निर्देशन दिइएको सो कार्यालयले जनाएको छ। जिल्ला अनुगमन तथा समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले मापदण्ड पूरा नगर्ने क्रसर उद्योगलाई साउनदेखि नै बन्द गर्न निर्देशन दिएको बताए। रासस/फाइल तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।