गुल्मी- तीन दिनको अवधिमा जिल्लामा अज्ञात व्यक्तिद्वारा ४४ घरमा चोरी भएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा आइतबारदेखि लगातार घर तोडफोड गरी चोरी गर्ने क्रम बढ्दै गएको गुल्मी दरबारका अध्यक्ष अशोककुमार थापाले जानकारी दिए।
गुल्मीदरबार-१ अन्तर्गत बलीथुममा ८ र वडा नं २ अन्तर्गत जुभुङको झिरबासमा २१ गरी २९ घरमा चोरी भएको छ भने रेसुङ्गा-१३ अन्तर्गत दुबीचौरमा १५ घरमा चोरी भएको वडाध्यक्ष खुमबहादुर खत्रीले जानकारी दिए।
रातिको समयमा चोरी गर्दै आइरहेका व्यक्तिहरुले कतिपय घरमा मानिस सुतिरहेको अवस्थामा ढोका फोडी घरभित्र पसेर दराज र बाक्सा फुटाई नगद, गरगहाना र सुनलगायतका सामग्री चोरी गरी लगेको स्थानीयवासीले बताएका छन्। चोरी गर्नेहरुले प्रति घरबाट ५ हजारदेखि २५ हजार रुपैयाँसम्म नगद र ५ तोलासम्म सुन गरी लाखौँ रकम बराबरको सामान चोरी गरेको बताइएको छ।
गाउँमा चोरीका घटना बढ्न थालेपछि यतिबेला दुबिचौरमा स्थानीयवासीले रातभर गस्ती अभियान सुरु गरेका छन्। चाडपर्व नजिकिँदै जाँदा चोरीका घटना बढ्दै जान थालेपछि जिल्ला प्रहरी कार्यालयले जिल्ला र स्थानीय प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरी गस्ती गर्न सुरु गरेको छ।
घटनाको जानकारी पाएपछि क्षतिको विवरण सङ्कलन गर्न र चोरी गर्ने व्यक्तिको खोजतलास गर्न सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए। रासस/प्रतिकात्मक तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।