राजविराज– सप्तरीमा प्रहरीको मुद्दा दर्ता प्रक्रियालाई लिएर स्थानीय तहका प्रतिनिधि र कानुन व्यवसायीबीच हानाथापको अवस्था सिर्जना भएको छ।
स्थानीय तहका प्रतिनिधिले प्रहरी कार्यालयमा जथाभावी मुद्दा दर्ता गर्दा न्यायिक समितिमा मिलापत्र भइसकेका विवादले पनि ठूलो रुप लिन थालेकाले यथार्थ बुझेर मात्रै दर्ता प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् भने कानुन व्यवसायीले भने प्रहरीले मुद्दा दर्ता नगर्दा पीडितले न्याय पाउनै मुस्किल भएको गुनासो गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार राजविराजमा आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा दुवै पक्षले आ–आफ्नो अनुभव राखे।
अग्निसाइर कृष्णावरण गाउँपालिकाका ४ का वडाध्यक्ष तेजनारायण यादवले राजनीतिक दबाब र नेताको प्रभावमा परेर प्रहरीले मुद्दा/उजुरी दर्ता गर्दा सानातिना समस्याले पनि ठूलो रुप लिने गरेको बताए। ‘छरछिमेकमा सामान्य विवाद हुँदा पनि कहिलेकाहीँ हात हालाहालको अवस्था आउँछ, चोटपटक पनि लाग्न सक्छ। त्यस्ता समस्या गाउँमै मिलाउन खोज्दा एक पक्ष मिल्न खोजे पनि अर्को पक्षले पावरको धम्की दिएर प्रहरी कार्यालय पुग्छ,’ उनले भने, ‘परिवार र समाजलाई नै मुछेर त्यस्ता व्यक्तिले दिएको ज्यान मार्ने उद्योगको उजुरी प्रहरीले दर्ता गर्छ। अनि गाउँ नै भाग्नुपर्ने आवस्था आउँछ।’
'जिउमा सामान्य खोस्रिएको देख्नेबित्तिकै ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेपछिको अवस्था मूल्यांकन गर्नुभएको छ? भन्दै उनले थपे , 'कमसेकम घटनाको यथार्थ बुझ्ने र स्थानीय तहका प्रतिनिधिहरुलाई बुझेर मात्रै मुद्दा दर्ता प्रक्रिया अघि बढाए फलदायी हुन्छ।’
सप्तरीमा झुटा मुद्दाका कारण समाज नै आक्रान्त भइरहेको भन्दै वडाध्यक्ष यादवले मुद्दा दर्ता गर्दा गाउँ नै विस्थापित हुने अवस्था नआओस् भन्ने विचार गरेर मात्र काम गर्न प्रहरी/प्रशासनको ध्यानाकर्षण गराए।
अर्कोतर्फ कानुन व्यवसायी मीना देवले भने प्रहरीले मुद्दा दर्ता नगर्दा पीडितले न्याय नपाएको गुनासो गरेकी छिन्। एक बलात्कार पीडित युवतीको दृष्टान्त दिँदै उनले भनिन्, ‘स्थानीय तहका जनप्रतिनिधि गुट–उपगुट र पार्टी छुट्याउँछन्। जन्म दर्ता गराउन पनि परमादेश जारी गर्नुपर्ने अवस्था छ। यस्ता घटनामा पनि प्रहरीले मुद्दा नचलाए पीडितले कहाँ गएर न्याय पाउने?’
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी कृष्ण प्रसाईंले पनि सप्तरीमा झुटा मुद्दाको चाङ लाग्ने गरेको स्विकारे। तर, कसैको प्रभावमा परेर मुद्दा दर्ता गर्ने/नगर्ने नगरेको उनले प्रष्ट पारे।
‘प्रहरीमा आउने सबै उजुरी दर्ता गर्दै जाने हो भने थेग्न सक्ने अवस्था नै छैन,’ उनले भने, ‘प्रहरीले घटनाको अवस्था हेरेर मुद्दा दर्ता र अनुसन्धान गर्छ।’ सप्तरीमा जाहेरी दिने व्यक्तिबाटै अनुसन्धान सुरु गर्नु पर्ने अवस्था रहेको भन्दै प्रसाईंले झुटा मुद्दाको अवस्थाका बारेमा प्रस्ट्याए।
सीमित साधनस्रोतका कारण पनि प्रहरीले अपेक्षाकृत काम गर्न नसकेको बताएका उनले अपराधमा राजनीतिकरण र राजनीतिमा अपराधीकरण गर्ने प्रवृत्तिले ठूलो समस्या निम्त्याउने गरेको बताए। ‘अवस्था जस्तोसुकै होस्, अपराध, अपराधी र तस्करविरुद्ध हामीले काम गर्छौं। त्यस्मा ढुक्क हुन म आग्रह गर्छु,’ उनले भने।
कार्यक्रममा सप्तरीका सिडिओ सुनील खनाल, जिल्ला समन्वय समिति सप्तरीका संयोजक प्रभाकर यादव, राजविराज नगरपालिकाका मेयर शम्भु यादव लगायतले सर्वसाधारणको जिज्ञासाको जवाफ दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।