काठमाडौं- काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि ५ सय ट्राफिक स्वयंसेवक परिचालन गरिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ, राष्ट्रिय युवा परिषद सानोठिमी भक्तपुर र युएन नेपालद्वारा संयुक्त रुपमा आइतबार आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले ट्राफिक स्वयंसेवकलाई फ्लोरोसेन्ट ज्याकेट र परिचयपत्र वितरण गरी उक्त कार्यक्रमको सुरुवात गरेका हुन्।
गृहमन्त्री थापाले युवा नै सक्रिय, सिर्जनशील र उत्पादनशील शक्ति भएको उल्लेख गर्दै राष्ट्रको विकास, समृद्धि, शान्ति, सुव्यवस्था र सुशासन कायम गर्न युवाहरुको महत्वपूर्ण र निर्णायक भूमिका हुने बताए।
सो अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक व्यवस्थापनका लागि सुधारका विभिन्न कामहरु भइरहेको उल्लेख गर्दै ठमेल तथा पशुपति क्षेत्रमा सहज अवस्था सिर्जना हुँदै गएको बताए। अबका दिनमा ट्राफिक व्यवस्थापनलाई थप सहज बनाउन सडक बत्ती, जेब्रा क्रस, आकाशेपुल लगायतका पूर्वाधार पर्याप्त मात्रामा विकास गर्नुपर्नेमा उनले जोड दिए।
ट्राफिक व्यवस्थापनका लागि विभिन्न करिडोर खोल्ने, नागरिक समाजसँग समन्वय गरी विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्ने, ट्राफिक नियम नमान्नेलाई कारबाही गर्नेलगायतका कार्यहरु नेपाल प्रहरीले गर्दै आइरहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले यसका सम्बद्ध पक्षहरु पनि यसप्रति क्रियाशील भई लाग्न जरुरी रहेको बताए।
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन २३ वटा कलेज, २ वटा युवा क्लब, १६ वटा निजी यातायात, १० जना ख्याती प्राप्त कलाकार, १२ जना एयरहोष्टेज समेत गरी ५ सय जना स्वयमसेवकहरु यस अभियानमा १५ दिनसम्म परिचालन हुने महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए।
स्वयंसेवकलाई १ दिने प्रशिक्षण प्रदान गरी सकिएको छ। साथै उनीहरुको कार्यक्षमता मूल्याङ्कन गरी प्रमाणपत्र समेत वितरण गरिने छ।
ट्राफिक स्वयंसेवकहरुले काठमाडौंका प्रमुख सडकहरुमा खटिएर जेब्राक्रसिङमा यात्रुलाई सहयोग गर्ने, पैदलयात्रुलाई फुटपाथ तथा आकाशेपुल प्रयोग गर्न सहयोग गर्ने, पिक एण्ड ड्रप व्यवस्थापन गर्ने, यात्रुलाई बस बिसौनी तथा लाइनमा बसी सवारी चढ्न सहयोग गर्ने, लाइन मेन्टेन कार्यमा सहयोग गर्ने, यात्रु सहायता कक्षमा रहेर सहयोग गर्ने लगायतका कार्य गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।