काठमाडौं- चितवनमा ‘एसिया क्षेत्रीय बाख्रा विज्ञहरुको सम्मेलन’ हुने भएको छ।
चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी क्याम्पसको बहुउद्देश्यीय हलमा सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो।
आगामी कार्तिक ३ गतेदेखि ६ गतेसम्म आयोजना हुने सो सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, अमेरिका, क्यानडा, चीन, इन्डोनेसिया, जापान, क्युवा, फ्रान्स, बंगलादेश, केन्यालगायतका १४ देशका बाख्रा अनुसन्धान तथा विकासमा विशिष्ट योगदान पुर्याएका सफल वैज्ञानिक, अनुसन्धाता, उद्यमी र विद्यार्थीहरुको सहभागिता रहने सम्मेलन आयोजना समितिकी संयोजक एवम् विश्वविद्यालयकी कायममुकायम उपकुलपति प्रा डा शारदा थपलियाले जानकारी दिइन्।
‘विकासशील विश्वमा खाद्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन’ भन्ने नाराका साथ आयोजना हुने सो सम्मेलनमा खाद्य तथा पोषणको स्रोत बाख्रा, बाख्रा उत्पादनका नीति, बाख्राजन्य उत्पादनमा प्रविधिको विकास लगायतका विषयमा विस्तृत छलफल हुनेछ।
विश्वमा बाख्रा उत्पादनको दृष्टिले एसिया महादेशलाई अनुकूल भूमिको रुपमा लिने गरिन्छ। नेपालमा मात्रै गत आर्थिक वर्षमा करिब ५ अर्ब बराबरको आम्दानी मासु निर्यातबाट भएको सरकारी तथ्यांक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।