काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा ५-६ दिन बिराएर वितरण हुने पानी अहिले २ दिन बिराएर वितरण गर्न थालिएको छ। बागमतीमा पानीको सतह बढेकाले अहिले काठमाडौंका विभिन्न ठाउँहरुमा पानीको आपूर्ति सहज बन्दै गएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले दाबी गरेको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले महांकाल, महाराजगञ्ज र बानेश्वरको मीनभवनस्थित पानी ट्यांकीमा जम्मा भएको पानी २ दिन बिराएर वितरण गर्न थालेको हो।
खानेपानी मन्त्री बिना मगरको निर्देशनमा केयुकेएलले काठमाडौंका मुख्य ठाउँहरुमा पानीको वितरणलाई तीव्रता दिएको छ।
बागमतीमा पानीको सतह बढेकाले उक्त पानीलाई सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठाएर प्रशोधन गरी वितरण गरिएको केयुकेएलका कम्पनी सचिव मिलन शाक्यले जानकारी दिए।
पुरानै वितरण लाइनबाट पानीको आपूर्ति भइरहेको कम्पनी सचिव शाक्यले बताए। पुरानै लाइनबाट पानीको आपूर्ति गर्दा चुहावट हुने सम्भावना भएकाले नजिकका केयुकेएलका शाखा कार्यालयहरुमा खबर गर्न समेत केयुकेएलले सबैलाई आग्रह गरेको छ।
‘वर्षातको समय भएकोले बागमतीमा पानीको वहाब बढेकाो छ, उक्त पानीलाई प्रशोधन गरी वितरण गरिएको हो,’ कम्पनी सचिव शाक्यले भने, ‘५–६ दिन बिराएर वितरण गर्दै आइरहेको पानी अहिले २ दिन बिराएर वितरण गर्न थालिएको छ। वर्षातका कारण काठमाडौंका मुख्य ठाउँहरुमा अहिले पानीको समस्या कम हुँदै जान थालेको र प्रत्येकको घरमा पानीको आपूर्ति सहज भइरहेको छ।’
केयुकेएलका अनुसार महांकालचौर स्थित पानी ट्यांकीमा दैनिक डेढ करोड लिटर पानी थपिंदै गएको छ। महांकालचौर शाखाको पानी अहिले चाबहिल, कपन, मैजुबहाल, पशुपति, गौशाला, बत्तिसपुतली, पुरानो बानेश्वर, न्युरोड र कमलादीमा वितरण हुँदै आइरहेको छ। शाखा प्रमुख उमेश मरहठ्ठाले महांकालचौरबाट ९० हजार धाराहरुमा पानी वितरण हुँदै आएको जानकारी दिए।
त्यसैगरी, महाराजगञ्जस्थित पानी ट्यांकीमा अहिले दैनिक ४५ लाख लिटर पानी थपिएको शाखा प्रमुख रमेश केसीले जानकारी दिए। महाराजगञ्ज शाखाबाट चक्रपथ, महाराजगञ्ज, लाजिम्पाट, गैरीधारा, कपुरधारा, रानीबारी, सामाखुसी र असनमा पानी वितरण हुने गर्दछ। यस क्षेत्रका ८ हजार धारामा पानी वितरण गरिंदै आएको शाखा प्रमुख केसीले बताए।
केयुकेएलका अनुसार नयाँ बानेश्वरको मीनभवनस्थित पानी ट्यांकीमा अहिले दैनिक २५ लाख लिटर पानी थपिएको छ। मीनभवन शाखाबाट नयाँ बानेश्वर, तीनकुने, शंखमुल, बुद्धनगर, थापागाउँ र मध्य बानेश्वर क्षेत्रमा पानी वितरण हुँदै आइरहेको छ। यस क्षेत्रमा करिब १० हजार धारामा पानी आइरहेको शाखा प्रमुख नारायण कर्णले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।