काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले सबै नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आह्वान गरेका छन्।
गृहमन्त्री थापाले नागरिकले आ-आफ्नो ठाउँबाट ट्राफिक नियमको पूर्ण पालना गरेमात्रै मुलुकमा बढ्दो यातायात व्यवस्थापनको समस्या समाधान भएर जाने पनि स्पष्ट पारे।
आइतबार काठमाडौंमा १५ दिने ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रमको शुभारम्भ गर्दै उनले काठमाडौं उपत्यकाको बढ्दो ट्राफिक समस्या समाधानका लागि विकास, निर्माणको सोच र योजनामै पुनर्विचार गर्न पनि विकासका योजनाकार तथा नीति निर्माताहरुलाई आग्रह गरे।
विकास, निर्माणको काम सही ढंगले अघि बढे यातायातसम्बन्धी समस्या पनि स्वतः घटेर जाने गृहमन्त्री थापाको भनाइ छ। गृहमन्त्री थापाले सिंगो मुलुकनै विकास, निर्माणको काममा तीव्र गतिका साथ अघि बढिरहेकाले पनि यातायात क्षेत्रमा समस्या देखिएकोतर्फ पनि सबैलाई सचेत गराए।
गृहमन्त्री थापाले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि युवा जनशक्तिको भूमिका महत्वपूर्ण हुने जनाए।
उता प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीभित्र अनियमितता नभएको दाबी गरे।
प्रहरी महानिरीक्षक खनालले प्रहरी संगठनभित्र पनि सुशासनलाई जोड दिइएको उल्लेख गर्दै कहीँकतै अनियमितता भएको पाइए कडा कारबाही गर्ने चेतावनी पनि दिए।
उनले मुलुकलाई समृद्ध बनाउने सरकारको अभियानलाई सफल बनाउन पनि नेपाल प्रहरी कटिवद्ध भएर लागिपरेको जनाए। प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनका लागि युवाहरुको परिचालनमा जोड दिने बताए।
उनले चालू आर्थिक वर्षलाई ट्राफिक व्यवस्थापन अभियानकै रुपमा सञ्चालन गरेर यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनका लागि नेपाल प्रहरीको भूतपूर्व संगठनहरु पनि स्वयंसेवकको रुपमा परिचालन हुने अपेक्षासमेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।