बुटवल- मानवअधिकारवादी कृष्ण पहाडीले नेपाली जनताले हिंसा थेग्न नसक्ने भन्दै नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपालाई वार्तामा ल्याउन सरकारलाई आग्रह गरेका छन्।
मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापतिसमेत रहेका पहाडीले अब राजनीतिका नाममा नेपाली जनतामाथि हिंसा थोपरे अनिष्ट हुने बताउँदै लोकतान्त्रिक गणतन्त्रका संबाहकहरु आपसमा द्वन्द्वमा फस्दा मुलुकनै अफ्ठ्यारोमा पर्ने बताए।
नेपाली लोकतान्त्रिक आन्दोलनका अगुवासमेत रहेका पहाडीले नेपालमा कानुनी सर्वोच्चता कायम हुन नसकेकै कारण संक्रमणकालीन न्यायसम्बन्धी विषय किनारा लाग्न नसकेको दाबी गरे। १० वर्षे सशस्त्र द्वन्द्वका समयमा राज्य वा विद्रोही पक्षबाट अन्यायमा परेका व्यक्तिहरुको न्यायका लागि सरकारले गठन गरेका आयोगहरु निष्कृय बनेका कारण संक्रमणकालीन न्याय तार्किक निष्कर्षमा पुग्न नसकेको उनको ठम्याई छ।
सरकारले गठन गरेका बेपत्ता व्यक्तिहरुको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग कर्मकाण्डी मात्र बनेका उनको भनाइ छ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा विश्व शान्ति दिवसको अवसर पारेर आयोजना गरेको ‘संक्रमणकालीन न्यायको तार्किक निष्कर्ष’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै संस्थापक पहाडीले संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउनका लागि सरकार र दलहरु चुकेको आरोप लगाए। यसैका कारण अर्को द्वन्द्वको सूचक घण्टी बजेको उनले बताए। उनले यसतर्फ सबै सचेत हुन आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा बोल्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायधीश शेषराज सिवाकोटीले संविधानमा व्यवस्था भएका मौलिक हकमा सरकार पन्छिन नहुने बताउँदै त्यस्ता मुद्धाहरु अदालतमा आएमा न्यायालयले संविधान बमोजिम निर्णय गर्नुपर्ने धारणा राखे। न्यायालयमा राजनीतिक नियु्क्तिका कारण न्याय प्रभावित हुने टिकाटिप्पणी भइरहेका बेला उनले न्यायधीशहरु कसैको पनि प्रभावमा पर्न नहुने विचार व्यक्त गरे।
शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसक्दा जनतामा निराशा उत्पन्न भएको बताए। दुई तिहाई जनमत प्राप्त नेकपाको सरकारले मुलुकमा शान्ति र सुशासन कायम गर्न नसकेकै कारण जनताले संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभुति गर्न नसकेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।