काठमाडौं- धादिङकी उर्मिला आचार्य (नाम परिवर्तन) का आफन्तहरु काठमाडौंको कलंकीमा बस्थे। उनी धादिङबाट काठमाडौं आउजाउ गरिरहन्थिन्।
आफन्तहरुलाई भेट्न आउने क्रममा आफन्तकै नजिककी एक खाजाघरकी साहुनीसँग उनको भेट हुन्छ। कुराकानी र भेट बाक्लिँदै जाँदा साहुनीले होटलमा काम गर्न आए राम्रो पारिश्रमिक दिने सुनाउँछिन्।
साहुनीको कुरामा लोभिएर उर्मिला घर छाडेर काठमाडौं आउँछिन् र सोही खाजा घरमा भाँडा माझ्ने र सरसफाइ गर्ने काम गर्न थाल्छिन्।
सुरुको अवस्थामा उनलाई साहुनीले भनेजस्तै भाँडा माझ्ने तथा सरसफाइको काम गर्न लगाइन्छ। बिस्तारै उनलाई पहिलेको भन्दा फरक व्यवहार गर्न थालिन्छ।
खाजाघरकी साहुनीले उर्मिलालाई जबर्जस्ती मादक पदार्थ खुवाएर ग्राहकसँग यौन धन्दा गर्न लगाउँछिन्। इन्कार गरेपछि आफूलाई पिट्ने र गालीगलौज गर्ने गरेको उनले बताइन्।
यसरी उर्मिला जबर्जस्ती यौनधन्दामा सामेल हुन बाध्य भइन्। असह्य भएपछि एक दिन उनी उक्त खाजाघरबाट भागेर साथीकहाँ पुग्छिन्।
साथीहरुसँग पुगेपछि परिवारमा समेत उक्त घटना थाहा पाउँछन्। त्यसपछि परिवारकै सहयोगमा कालिमाटी महिला तथा बालबालिका सेवा कार्यालयमा मानव बेचबिखन सम्बन्धी मुद्दा दायर हुन्छ।
OOO
काठमाडौंको गोंगबुस्थित एक होटलमा काम गर्ने एक १३ वर्षीया बालिकाको व्यथासमेत उर्मिलासँग मिल्दोजुल्दो छ।
उनी पाँच कक्षामा पढ्दादेखि खाजाघरमा भाँडा माझ्ने काम गर्थिन्। आमाको कामले मात्रै गुजारा नचल्ने भएपछि उनले सानैदेखि होटलमा काम सुरु गरेकी थिइन्। खाजाघरमा काम गर्दा ग्राहकहरुले नराम्रो नजरले हेर्थे गरेको उनले बताइन्। 'यस्ता कुराहरु मलाई नराम्रो लाग्थ्यो, मैले सबै कुरा साथीलाई सुनाएकी थिएँ,’ पीडित बालिकाले सुनाइन्।
यस्ता कुरा साथीलाई सुनाएपछि उनकी साथीले राम्रो ठाउँमा काम खोजिदिने बताइन्। गोंगबु बसपार्कको एउटा खाजाघरमा पुर्याइन्।
‘काममा ल्याएबापत उसको प्रमोसन भयो तर मलाई चाहिँ मादक पदार्थ बेच्ने काम लगाइयो, गेष्टहरुसँग जर्बजस्ती यौन धन्दा गर्न लगाइयो,’ पीडित बालिका सुनाउँछिन्, ‘साहुले भनेको नमानेमा गालीगलौज गर्ने र धेरै काम लगाउने गर्दथ्यो।'
राष्ट्रिय मानव अधिकार आयोगको टोलीले उर्मिला र यी १३ वर्षीया बालिकाबारे सोधपुछ गरेको थियो। त्यस क्रममा उनीहरुले साहुले भनेको नमाने ज्यान मार्ने धम्कीसमेत दिने गरेको गुनासो गरेका थिए।
सुनसरीका खाजाघरमा पनि यौनधन्दा
आयोगको टोलीले काठमाडौं र सुनसरीका केही खाजाघरमा काम गर्ने महिला तथा किशोरीहरुसँग पनि सोधपुछ गरेको थियो।
सो क्रममा होटल तथा खाजाघरमा काम गर्ने सबैभन्दा ठूलो संख्यामा १८ वर्षमुनिका किशोरी सामेल रहेका भेटिएका थिए। खाजाघरमा उनीहरुलाई जबर्जस्ती यौन शोषणमा लगाउने गरेको पाइएको छ।
कामको खोजीमा हिँडेका तीन जना १० वर्षीया बालिका करुणा देव (नाम परिवर्तन), १६ वर्षीया विनिता भण्डारी (नाम परिवर्तन) र १७ वर्षीया काजल चौधरी (नाम परिवर्तन) यस्तै शोषणमा परेका पात्र हुन्। उनीहरुलाई सुनसरीको इनरुवा नगरपालिका अवस्थित एक होटलमा वेटरको काम भनेर लगिएको थियो।
तर, होटलमा आएका पुरुष ग्राहकसँग शारीरिक सम्बन्ध राख्न उनीहरु बाध्य भए। होटलबाहिर निस्कन नदिई नदिई जबर्जस्ती यौन धन्दामा लगाइको उनीहरुले टोलीसामु बताएका थिए।
एक दिन १७ वर्षीया काजल चौधरी भागेर जिल्ला प्रहरी कार्यालय सुनसरी पुगिन्। उनकै सहयोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीले दुई जनालाई समेत उद्धार गरिसकेको छ। हाल सुनसरी जिल्ला अदालत समक्ष मानव बेचबिखन तथा शरीर बन्धक अन्तर्गत यो मुद्दा चलिरहेको छ।
राष्ट्रिय मानव अधिकार आयोगकी अनुसन्धानकर्ता तथा मानव अधिकार अधिकृत यशोदा बन्जाडेका अनुसार पछिल्लो समय खाजाघरमा समेत यौनधन्दाका घटनाहरु बढ्दै गएको पाइएको छ।
भाँडा माझ्ने, सरसफाइ गर्ने वा वेटरको काम भनेर युवती तथा बालबालिकालाई जबर्जस्ती यौनधन्दामा लगाउने गरेका थुप्रै घटनाहरु भेटिएको उनले बताइन्। ‘यस्तो समस्याबाट थुप्रै महिला तथा बालबालिका गुज्रिएका छन् तर धेरैजसो युवतीहरु आफ्नो वास्तविक कुरा राख्न डराउँछन्,' उनले भनिन्, 'कतिपय बालबालिकालाई आफ्नो समस्या कहाँ राख्ने कसरी राख्ने भन्ने कुराको चेतना नै हुँदैन।’
जबर्जस्ती श्रम, बेचबिखनका अभ्यास तथा सामाजिक लान्छनाका कारण उनीहरूले आफ्नो पहिचान तथा अधिकार गुमाएको आयोगले टिप्पणी गरेको छ।
स्वतन्त्रता अभियान र संस्थाहरूको अध्ययन (२०१७) मा उल्लेख भए अनुसार २६ प्रतिशत श्रमिकहरूले आफै खोजेर यो पेसा अपनाएको बताएका छन् भने ५० प्रतिशतलाई साथीले, १७ प्रतिशतलाई नातेदारले, ७ प्रतिशतलाई गाउँले तथा ३ प्रतिशतलाई आफ्नै परिवारका सदस्यले यस क्षेत्रमा काम खोज्न सघाएको बताएका छन्।
उक्त अध्ययन अनुसार यस क्षेत्रका श्रमिकहरूलाई अधिक समय काममा लगाएको (३० प्रतिशत), इच्छाविपरीत जबर्जस्ती काममा लगाएको (४ प्रतिशत), तलब रोकेर राखेको (२० प्रतिशत), साना गल्तीमा पनि तलब कटौती गरेको (२५ प्रतिशत), बालश्रम लगाएको (१३ प्रतिशत), भनेको भन्दा फरक काममा लगाएको (८ प्रतिशत), शारीरिक हिंसा बल प्रयोग गरेको (९ प्रतिशत), यौन शोषण (४ प्रतिशत) गरेको पाइएको छ।
होटल तथा खाजाघरमा काम गर्ने श्रमिकहरु जबर्जस्ती श्रम तथा यौन शोषणमा पर्ने गरेको आयोगको निष्कर्षसमेत छ। सबै क्षेत्रमा कार्यरत श्रमिकको हकहित तथा सुरक्षामा ध्यान पुर्याउननुपर्ने तथा कुनै क्षेत्रका श्रमिकहरुको पनि मानव अधिकार हनन हुनु नहुने आयोगले उल्लेख गरेको छ। (प्रतीकात्मक तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।