डडेल्धुरा- डडेल्धुरामा सुरक्षार्थ खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा दुई युवा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका–९ ढाँटगाउँका २४ वर्षीय राजेश पाल र सोही ठाउँका २३ वर्षीय रमेश पाल रहेका छन्।
अमरगढी नगरपालिका–७ पोखरा बजार नजिक बन्डुनी मेलाको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रम चलिरहेको अवस्थामा बुधबार साझँ ६ बजेतिर प्रहरीमाथि हातपात गरेको आरोप उनीहरुमाथि लागेको छ।
उनीहरूले मादक पदार्थ सेवन गरी कार्यक्रमस्थलमा अश्लील शब्द प्रयोग गरी हो–हल्ला गरिरहेको अवस्थामा सुरक्षार्थ खटिएका प्रहरीले सम्झाइबुझाइ गर्न खोज्दा प्रहरीलाई नै अपशब्द प्रयोग गरी गालीगलौज गरेका थिए।
यसका साथैं प्रहरीको हातमा टोकेर चक्कुसमेत प्रहार गर्न खोज्दा राजेश र रमेशलाई पक्राउ गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
पक्राउ परेका दुबैजनामाथि ‘सार्वजनिक शान्तिविरुद्धको कसुर’ अपराधमा अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।