काठमाडौं– शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएर प्रहरी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना प्रहरी नायव निरीक्षक (सई) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले प्रहरीका सई पुष्पाकुमारी केसीविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
केसीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरी बढुवा समेत भएकाले छानविन गरी नक्कली र किर्ते गर्नेलाई कारवाही गरी पाउँ भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।
सई केसीले लिएको विहार इन्टरमिडियट शिक्षा परिषद, पटना भारतबाट प्राप्त इन्टरमिडियट तहको शैक्षिक योग्यताको प्रमाणपत्र झुठो रहेको पाइएको अख्तियारले जनाएको छ ।
नक्कली कागजात पेश गरेर लाभ लिएको देखिएकोले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिएकाले सोही अनुसार कारबाहीको माग गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।