काठमाडौं- विश्वविख्यात आँखा सर्जन डा सन्दुक रूइतको जीवनी 'सन्दुक रूइत' प्रकाशन हुने भएको छ।
अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको उक्त किताब लेखक खगेन्द्र सङ्ग्रौलाले नेपालीमा अनुवाद गरेका हुन्।
म्यागासेसे, पद्मभूषण जस्ता प्रतिष्ठित पुरस्कार पाएका डा रुइतले अङ्ग्रेजीमा लेखिएको जीवनीको नेपाली अनुवाद आउन लाग्दा आफू हर्षित भएको प्रतिक्रिया दिए। 'मेरो पुस्तकले कसैलाई परोपकार वा सत्कर्मको बाटोमा लाग्न प्रेरित गर्यो भने मेरो जीवनी सार्थक भयो भन्ने म ठान्नेछु,' उनले भने।
पुस्तक अनुवादक खगेन्द्र सङ्ग्रौला रूइतको नागबेली जीवनयात्रा बहुआयामिक विशिष्टतायुक्त, प्रेरणादायी एवम् अनुकरणीय रहेको बताउँछन्। 'यस्ता उत्कृष्ट मानिसको भव्य जीवन कथा अनुवाद गर्दाका क्षण मेरो जीवनका सुखद र सार्थक क्षणहरु हुन्,' उनले भने।
पुस्तक असोज ११ गते सार्वजनिक हुने जानकारी दिँदै प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले जोन उडको 'माइक्रोसफ्टदेखि बाहुँनडाँडासम्म'ले जस्तै यो पुस्तकले पनि वैभव र विलासको जीवन त्यागेर संसारलाई असल बनाउने उदात्त कर्ममा लाग्न प्रेरित गर्ने बताए।
डा रूइतको जीवनी लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने एक नेत्र चिकित्सकको प्रेरणादायी कथा हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।