संखुवासभा- अरुण नदीमा जिप खस्दा बेपत्ता भएका ६ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन।
जिल्ला सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको को १ ज ३७४९ नंको जिप गएराति १०ः३० बजे अक्करे भीरबाट अरुण नदीमा खसेको थियो। बेपत्ता हुने ६ जनामध्ये एकै परिवारका ३ जना रहेका छन्।
धर्मदेवी नगरपालिका–८ मा पर्ने अक्करको भीरबाट जिप नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले बताए। उनका अनुसार जिप खस्दा खाँदबारी–९ का दुईमहिने बालक समिर श्रेष्ठ, उनका बुबा सङ्गम श्रेष्ठ र आमा सदीक्षा श्रेष्ठ बेपत्ता छन्। त्यस्तै प्रमिस थापामगर, खबरमान मगर र चालक सन्तोष विकको अवस्था पनि अज्ञात छ।
जिप अरुणमा खसेपछि खाँदबारीबाट राति नै प्रहरीको टोली परिचालन गरिएको थियो।
केही दिनदेखिको वर्षाले उर्लिएको अरुण नदीमा जिप पुरै डुबेकाले उद्धारमा समस्या भएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए। लामाका अनुसार कच्चीबाट छिचोल्दै घटनास्थलमा पुग्नुपर्छ।
घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मी पुगिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।