पालुङटार- गोरखाको पालुङटारस्थित रजगरे माध्यामिक विद्यालयको भवन पुनर्निर्माण गरिएको छ। जापान सरकारको सहयोग नियोग 'जाइका'को आर्थिक सहयोगमा निर्माण भएको सो विद्यालय भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाले आइतबार विद्यालय व्यवस्थापन समितिलाई सो भवन हस्तान्तरण गरेको हो।
भवन कूल ३ करोड ४७ लाख रुपंयाँ लागतमा निर्माण भएको हो। १० कोठे विद्यालय भवन भूकम्प प्रतिरोधात्मक हुनाका साथै अपाङ्गमैत्री र बालमैत्रीसमेत छ। यस अलावा भवनमा सौर्य उर्जा पनि जडान गरिएको इन्जिनियर निशान अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार भवन निर्माण सुरु गरिएको १५ महिनामै पूरा भएको थियो।
देशभर पुनर्निर्माण गर्नुपर्ने ७ हजार ५ सय ३ विद्यालय थिए। जसमध्ये हालसम्म ५ हजार ६३ विद्यालय निर्माण सम्पन्न भइसकेका पुनर्निर्माण प्राधिकरणअन्तर्गत प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाले जनाएको छ।
सो इकाईका अनुसार अझै १ हजार ८ सय १९ विद्यालय निर्माणाधीन छन् भने ६ सय ७१ विद्यालयको पुनर्निर्माण कार्य नै सुरु भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।