सप्तरी– जिल्ला प्रहरी कार्यालय सप्तरीले तस्करीको गोदाममा छापा मारेको छ। सप्तरीको हनुमाननगर कंकालिनी–१४ स्थित रामपुरमल्हनिया भन्ने ठाउँमा रहेको एक गोदामबाट तस्करी गरेर भारततर्फ लैजान लागिएको १७ सय ५० किलो मटर बरामद गरेको हो।
तस्करी गर्न लागिएको उक्त मटरसहित एकजनालाई पक्राउ गरिएको सप्तरीका एसपी कृष्ण प्रसाईले जानकारी दिए।
पछिल्लो समय सप्तरी प्रहरीले सुरक्षामा सतर्कता बढाउँदै लगेको छ। विशेषगरी दक्षिणका सीमा नाका र अपराध हुन सक्ने स्थानको पहिचान गरेर सप्तरी प्रहरीले सोही अनुरुपको सुरक्षा बढाएको छ। एक हप्ताअघि मात्रै सप्तरीमा हाजिर भएका नयाँ एसपी प्रसाईले प्रमुख जिल्ला अधिकारीसहित स्थानीयसँग समेत अन्तक्रिया गरेर सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराख्ने बताएका थिए।
त्यस्तै आफू मातहतका जिल्लाका सबै प्रहरी कार्यालयको निरीक्षण गर्दै एसपी प्रसाईले सुरक्षा व्यवस्था चुस्त राख्न र अपराध नियन्त्रण गर्न दृढ भएर लाग्न समेत निर्देशन दिएका थिए।
प्रसाईं लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट सरुवा भएर एक हप्ताअघि मात्रै सप्तरी पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।