जनकपुर- माटोको ढिस्कोमा पुरिएर महोत्तरीमा एक जनाको मृत्यु गरेको छ भने एक जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय बर्दिबासले दिएको जानकारी अनुसार ढिस्कोमा पुरिएर बर्दिबास नगरपालिका ४ नयाँ बस्तीका १४ वर्षीय बालक निरोज बम्जनको घटनास्थलमै मृत्यु भएको छ। सोही वडा बस्ने ३८ बर्षीय चन्द्र बल गम्भीर घाइते भएका छन्।
सोमबार बर्दिवास नगरपालिका–४ माइस्थान खोलामा माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले दुवै जना पुरिएका थिए।
घटनालगत्तै स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिए पनि बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइतेलाई धनुषास्थित लालगढ मोडल अस्पताल पठाइएको छ। मृतकको शव भने परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल पठाएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।