काठमाडौं- महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा रहेका ज्ञानेन्द्र शाही छुटेका छन्। उनलाई सम्झाइ-बुझाइ छाडिएको परिसरको मुद्दा फाँटका डिएसपी सन्तोष तामाङले जानकारी दिए।
आइतबार पत्रकार सम्मेलनस्थलबाटै पक्राउ परेका शाहीलाई पक्राउ पूर्जी थमाउँदै हिरासतमा राखिएको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि बुद्ध एयरको विमानमा शाहीले अभद्र व्यवहार गरेका थिए। सोही मुद्दामा अनुसन्धान गर्न उनलाई हिरासतमा राखिएको प्रहरीको भनाइ थियो। तर, उनलाई अहिले मुद्दा नचलाई सम्झाइ-बुझाइ गरेर छाडिएको हो।
मन्त्रीकै कारण विमान उडानमा ढिलाइ भएको भन्दै उनीसहितका यात्रुले मन्त्रीमाथि अभद्र व्यवहार गरेका थिए। पर्यटन मन्त्री भट्टराई धनगढीमा भएको कार्यक्रम सकेर नेपालगञ्जबाट काठमाडौं आउन लाग्दा उनकै कारण केही समय विमान उडानमा ढिलाइ भएको थियो।
यस विषयमा मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत माफीसमेत मागिसकेका छन्। मन्त्री भट्टराईले पूर्व युवराज पारस शाहविरुद्ध ७ लाख हस्ताक्षर बुझाएको भन्दै प्लेनमा आफूमाथि अपमान गरिएको बताएका थिए। मन्त्री भट्टराईले झुट बोलेको भन्दै यस विषयमा जानकारी गराउन भनेर शाहीले आइतबार ललितपुरमा पत्रकार सम्मेलन समेत राखेका थिए।
पत्रकार सम्मेलनमा शाहीमाथि नै प्रहार हुन थालेपछि प्रहरीले उनलाई सुरक्षाका लागि भन्दै ललितपुर परिसर पुर्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।