काठमाडौं- आफू भ्रष्टाचार विरोधी अभियन्ता भएको बताउँदै आएका ज्ञानेन्द्र शाहीलाई प्रहरीले हिरासतमा राखेको छ। आइतबार पत्रकार सम्मेलनबाटै पक्राउ परेका शाहीलाई पक्राउ पूर्जी थमाउँदै महानगरीय प्रहरी परिसर ललितपुरले हिरासतमा राखेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि विमानमै दुर्व्यवहार गरेको भन्दै शाहीलाई अभद्र व्यवहार मुद्दामा अनुसन्धान गर्न हिरासतमा राखिएको ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए।
मन्त्रीकै कारण विमान उडानमा ढिनाइ भएको भन्दै उनीसहितका यात्रुले मन्त्रीमाथि अभद्र व्यवहार गरेका थिए। पर्यटन मन्त्री भट्टराई धनगढीमा भएको कार्यक्रम सकेर नेपालगञ्जबाट काठमाडौं आउन लाग्दा उनकै कारण केही समय विमान उडानमा डिलाइ भएको थियो।
यस विषयमा मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत माफीसमेत मागिसकेका छन्। मन्त्री भट्टराईले पूर्व युवराज पारस शाहविरुद्ध ७ लाख हस्ताक्षर बुझाएको भन्दै प्लेनमा आफूमाथि अपमान गरिएको बताएका थिए। मन्त्री भट्टराईले झुट बोलेको भन्दै यस विषयमा जानकारी गराउन भनेर शाहीले आइतबार ललितपुरमा पत्रकार सम्मेलन समेत राखेका थिए।
पत्रकार सम्मेलनमा शाहीमाथि नै प्रहार हुन थालेपछि प्रहरीले उनलाई सुरक्षाका लागि भन्दै ललितपुर परिसर पुर्याएको थियो। अन्नत: उनलाई मन्त्रीमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।