काठमाडौं- प्युठानमा नेपाली कांग्रेसका ‘उदीयमान’ नेताका रुपमा चिनिएका गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरी प्रहरीको हिरासतमा पुगेका छन्।
कांग्रेसका लागि जिल्लामा सशक्त भुमिका खेलेकै कारण गिरीलाई फसाउन लागिएको स्थानीय नेता तथा कार्यकर्ताले आरोप लगाएका छन्। श्रीमतीसँगको पारिवारिक बेमेलका कारण गिरी प्रहरी हिरासत पुगेका छन्। २०५६ सालमा प्रेम विवाह गरेका गिरी र सीता केसीको दाम्पत्य जीवनमा २०६६ सालदेखि असहजता उत्पन्न हुन थालेको थियो। बेमेल उत्पन्न भएपछि दुवै फरक फरक स्थानमा बस्दै आएका थिए। तथापि सम्बन्ध विच्छेद भने भएको थिएन।
गिरीले अर्कै महिलासँग विवाह गरेको उजुरी केसीले जिल्ला प्रहरी कार्यालयमा दर्ता गरेपछि बेमेलले उत्कर्षको रुप लिएको छ। गिरीले अर्को महिलासँग बिहे गरेको स्वीकारेका छैनन्। उजुरीमा गिरीले परस्त्रीसँग फेसबुकमा वार्ता गर्दाको सन्दर्भ र अर्धनग्न तस्बिर पनि पेस गरिएको बताइएको छ। उजुरी परेपछि गत आइतबार गिरी र आरोपित महिलालाई प्युठान प्रहरीले हिरासतमा लिएको हो।
विद्यार्थीकालमा प्रेम सम्बन्धमा रहेका गिरीले केसीसँग विवाह गरेका थिए। गिरी र केसीको प्रेम विवाह २०५६ मा दश कक्षा पढ्दै गर्दा भएको थियो। केसीलाई विवाह गर्न गिरीको परिवारले स्वीकृति दिएन। परिवारले साथ नदिएपछि उनीहरू परिवारबाट छुट्टिएर बसेका थिए। २०६६ सालसम्ममा उनीहरुका दुई छोरी जन्म भइसकेको थियो। दुई छोरी जन्मिएपछि गिरिले भ्यासेक्टोमी गराएका थिए।
प्युठानको बाग्दुलामा ठुली छोरी पढाउन गिरी बस्दै आएका थिए। श्रीमती सीता तत्कालीन पूजा गाविसको एक विद्यालयमा शिक्षिका थिइन्। श्रीमान–श्रीमतीबीचको दुरी टाढा भएपछि गिरीले बाग्दुला नजिकै रहेको अर्को विद्यालयमा श्रीमतीको सरुवा मिलाए।
केही समयपछि गिरीको दाम्पत्य जीवनले अर्कै मोड लियो। श्रीमती भेट्न भनी गएका गिरीले आफ्नी श्रीमती परपुरुषसँग अनैतिक सम्बन्ध भइरहेको अवस्थामा भेटे। श्रीमतीसहित परपुरुषलाई प्रहरीको जिम्मा लगाइयो। तीन दिन उनीहरू प्रहरी हिरासतमै रहे। यसपछि केसीले ससुरा र श्रीमानविरुद्ध जालसाजी मुद्दा हालिन्। श्रीमान र ससुरालाई हालेको मुद्दामा जालसाजी नभएको अदालतले ठहर गर्यो। दुवैले अलगअलग बस्ने निधो गरे।
वि.स. २०७० सालमा गिरीले सम्बन्ध विच्छेदको मुद्दा जिल्ला अदालतमा दायर गरे। तर, श्रीमती तयार नभएको जनाउँदै अदालतले सम्बन्ध विच्छेदलाई स्वीकृति दिएन। गिरी सोही मुद्दालाई लिएर पुनरावेदन अदालत पुगे। पुनरावेदनले जिल्ला अदालतकै फैसलालाई सदर गरिदियो। २०७४ मा अंशबण्डाको मुद्दा परेपछि अदालतले श्रीमानश्रीमती र २ छोरीका नाममा चार भागमा अंशबण्डा हुने गरी फैसला सुनायो। तर, श्रीमतीले अंशबण्डाको प्रक्रियालाई पूरा गर्न आनाकानी गर्दै आएकी थिइन्। पछिल्लो समय अंशबण्डा कार्यान्वयन हुने क्रममा छ।
गौमुखी गाँउपालिका अध्यक्ष गिरी पदीय जिम्मेवारी अनुसार गाउँपालिका कार्यमा केन्द्रित थिए। केसी बिजुवारमा बस्दै आएकी छन्। दम्पतिबीच प्रगाढ सम्बन्ध नभएपनि कहिलकाहीँ भेट हुन्थ्यो। बुवालाई भेट्न प्रायः छोरीहरु जाने गर्थे। फेसबुकमा लग आउट नगरेका गिरीको एकाउन्टबाट अर्कै स्त्रीसँग अर्धनग्न फोटो पठाइएको केसीले भेटिन्।
त्यसै फोटोको आधारमा उनले प्रहरीमा उजुरी गरिन्। बहुविवाहको उजुरी त्यसै फोटोलाई मानेर गरिएको बताइएको छ। आरोपित दुबै जनाले प्रहरीसमक्ष विवाहलाई स्वीकारेका छैनन्। बहुविवाहको मुद्दा कपोलकल्पित भएको उनको दाबी छ। गिरीले १० वर्ष लामो घरायसी समस्याको मसिनो गरी लेखाजोखा गरिदिन आग्रह गरेका छन्। नीजि जीवनको पाटोमा सफल नदेखिए पनि सामाजिक पाटोमा सधैं समर्पित रहने उनले प्रतिबद्धता व्यक्ति गरेका छन्। कांग्रेस प्युठानका जिल्ला सभापति अमर भण्डारीले अदृश्य शक्ति लागेर गिरीलाई फसाउन लागेको बताए। उनले भने, ‘सम्भावना भएको जिल्ला नेता हो। बहुविवाह प्रमाणित गर्न जबरजस्ती खोजिरहेका छन्।’
हिरासतमा भएका गिरीलाई प्रहरीले अनुसन्धान गरिरहेको छ। जिल्ला अदालतमा उनलाई उपस्थित गराइएको छैन। प्युठान प्रहरी प्रमुख नरेन्द्र कार्कीले भने, ‘फाइल अन्तिम चरणमा पुगेको छ। छिट्टै अदालतमा पेस गर्छौ।’ प्रहरीले बहुविवाहको जाहेरीलाई अनुसन्धान गरिरहेको छ। प्युठानकै कानुन व्यवसायी निमा गिरीले भनिन्, ‘सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहकै थियो। अंशबण्डाको फैसला पनि भएको हो। बहुविवाह भएको कतैबाट पुष्टि हुन्न।’
मुलुकी अपराध संहिताको दफा १७५ को उपदफा ३ मा ‘पति वा पत्नीले कानुन बमोजिम अंशबण्डा गरी भिन्न भएमा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्नेछ' भनी उल्लेख गरिएको छ। बहुविवाह गरेको ठहरिएमा ५ वर्ष कैद वा पचास हजार जरिवाना वा दुबै हुन सक्ने व्यवस्था संहितामा छ।
अध्यक्ष गिरीले गौमुखी गाउँपालिकासहित प्युठान जिल्लामा पर्यटन प्रवर्द्धन गर्न गौमुखी मिडिया सम्मेलन पनि गरेका थिए। लोकसेवाको तयारी कक्षा उनले गाउँपालिकामार्फत सञ्चालन गराएका थिए। विगतमा नेपाल विद्यार्थी संघको कार्यवाहक अध्यक्ष हुँदै जिल्ला अध्यक्ष भएका गिरीले विद्यार्थी संघलाई जिल्लामा प्रभावकारी बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।