धनगढी- कैलालीको बर्दगोरिया गाउँपालिका क्षेत्रमा पर्ने काडा नदीले बगाउँदा बिहीबार एक जनाको मृत्यु भएको छ भने एक जनाको उद्धार गरिएको छ।
मृत्यु हुनेमा बर्दगोरिया गाउँपालिका ६ का १९ वर्षीय विशेष डगौरा रहेको इलाका प्रहरी कार्यालय बौनियाँले जनाएको छ।
वडा नम्बर ६ को सुगरखालमा रहेको रामजानकी सामुदायिक वनमा च्याउ खोज्न गएका डगौरा घर फर्किदा नदी तर्ने क्रममा बगेर बेपत्ता भएका थिए। प्रहरी, जनप्रतिनिधि र स्थानीयहरुको संयुक्त टोलीले दिनभरि नै खोजीकार्य जारी राखेका थिए।
बेपत्ता डगौराको शव जोशीपुर गाउँपालिका २ मा पर्ने घुस्री घाटमा फेला परेको इलाका प्रहरी कार्यालय बौनियाँका प्रमुख प्रहरी निरीक्षक ध्रुवबहादुर बिष्टले जानकारी दिए।
यस्तै बिहीबार नै बर्दगोरिया गाउँपालिका १ कट्टीपुरमा पनि सोही नदीले एक जनालाई बगाएको अवस्थामा उद्धार गरिएको छ। नदीमा बगेको दाउरा तान्ने क्रममा स्थानीय विष्णुबहादुर बमलाई नदीले बगाएको थियो। स्थानीयको सक्रियतामा करिब १ किलोमिटरको दुरीबाट उनको जीवीतै उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।