कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ।
शुक्लाफाँटा नगरपालिका–७ का वडाध्यक्षसमेत रहेका सिंहको बा२१च ८५०७ नम्बरको कारमा आगजनी भएको हो। यहाँको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको अवस्थामा गए राति करिब १:०० बजेको समयमा आगजनी गरिएको प्रवक्ता सिंहले बताए।
इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक नैनसिंह साउदले घटनाको गहन अनुसन्धान भइरहेको जानकारी दिए। “मध्यरातमा आएर आगो लगाएर फरार रहेको देखिन्छ”, प्रहरी निरीक्षक साउदले भने, “आगजनी गर्ने समूहको खोजी हुँदैछ।”
वडा कार्यालयमा पनि आगजनी
कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित वडा कार्यालयमा बिहीबार राति आगजनी गरिएको छ। प्रहरी चौकी बागफाँटाका अनुसार रातिको समयमा वडाध्यक्षको कार्यकक्षमा अज्ञात समूहले आगजनी गरेको हो। आगजनीबाट कार्यालयभित्र रहेका केही कागजात, फर्निचरका साथै वडाध्यक्षको कुर्चीमा क्षति पुगेको प्रहरीले जनाएको छ।
आगजनी गरिएको स्थलमा नेत्रविक्रम चन्द नेतृत्व समूहको सात बुँदे असहमतिसहितको पर्चा भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पर्चामा स्थानीय तहमा भ्रष्टाचार बढेको, छाडा पशुचौपायाको व्यवस्थापन नगरिएको र सडक पूर्वाधार लगायतका काममा बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।
मध्यरातमा आगजनी गरिएको भए पनि प्रहरीले भने आज बिहान ६ बजे खबर पाएको थियो। आगजनी गर्ने समूहको प्रहरीले खोजी गरिरहेको जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।