राजविराज– बलात्कार आरोप लागेका एक जना शिक्षकलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।
सप्तरीको राजविराज नगरपालिका– ११, फर्सेठका २५ वर्षीय तेजनारायण यादवलाई जिल्ला अदालत राजविराजले कारागार पठाउने आदेश गरेको हो। न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले बिहीबार यादवलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको अदालतले जानकारी दिएको छ।
रुपनी गाउँपालिका– २ पौवास्थित जेसिज आधारभूत विद्यालयमा राहत शिक्षक रहेका यादवमाथि १७ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोग छ। अदालतले पीडितको अभियोग बमोजिम कसुर गरेको भन्ने अवस्था देखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७(१) अनुसार पछि कसुर ठहरे बमोजिम हुनेगरी हाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
जेठ २१ गते किशोरीलाई बलात्कार गरेको आरोपमा यादवलाई सप्तरी प्रहरीले साउन २९ गते नियन्त्रणमा लिएको थियो। यसअघि गाउँलेले नै नियन्त्रणमा लिई जेठ २२ गते प्रहरीको जिम्मा लगाए पनि गाउँमा पञ्चायती गरेर विवाह गराउने सहमति गरी यादवलाई छुटाइएको थियो। वडा अध्यक्ष सञ्जय यादवको रोहवर तथा दाजु गजेन्द्र यादवको जमानतमा यादव छुटेका थिए।
सोही दिन (जेठ २२) गते पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेको थिएन। उच्च अदालत जनकपुर, राजविराज इजलासले असार १२ गते परमादेश जारी गरेपछि साउन १३ गते जबरजस्ती करणीको उजुरी दर्ता तथा किशोरीको स्वास्थ्य परीक्षण गराइएको थियो।
राजविराज नगरपालिका– ११, फर्सेठमै पाहुना आएकी पीडित किशोरीलाई कोही नभएको मौका पारी यादवले बलात्कार गरेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।