रौतहट- रौतहटको राजपुरमा प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ। राजपुर–६ कुडियाबजार क्षेत्रमा स्थानीयहरूबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
झडप नियन्त्रणबाहिर गएपछि स्थिति नियन्त्रणमा लिन दिउँसो करिब २ बजेतिर प्रहरीले केही राउन्ड हवाइफायर र २८ सेलभन्दा बढी अश्रुग्यास प्रहार गरेको प्रहरीले बताएको छ।
कुडियाबजार नजिकै रहेको पोखरीको किनारमा मुस्लिम समुदायले गाडेको झन्डा उखेलेको विषयमा विवाद उत्पन्न भएको थियो। विवादले उग्ररुप लिँदै झडपमा परिणत भएको थियो।
स्थानीयहरूकै दुई पक्ष बीच झडपका क्रममा प्रहरीको गाडीमाथि पनि ढुंगामुढा गरिएको थियो।
झडपका कारण कुडियाबजार क्षेत्र अझसम्म तनावग्रस्त छ भने सम्भावित अप्रिय घटना रोक्नलाई त्यस क्षेत्रमा डीएसपी नवीन कार्कीको नेतृत्वमा व्यापक संख्यामा प्रहरी परिचालन गरिएको छ।
समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसिरहेको छ।
उक्त ठाउँमा हिन्दू समुदायहरूका छठ पर्व मनाउनेहरुले बनाएको श्री सप्ताह मूर्ति बुधबार साँझ तोडफोड भएपछि विवाद सुरु भएको थियो। श्री सप्ताह मुर्ति तोडफोड भएको र त्यस ठाउँमा मुसलमान समुदायको झन्डा देखिएपछि विवाद उत्पन्न भएको थियो। बुधबार राति पनि दुई पक्षबीच झडप भएको थियो र राति पनि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो।
विवाद समाधान गर्नका लागि स्थानीय प्रहरी प्रशासनले बिहीबार बिहान मुस्लिम अगुवाहरुसँग छलफल गरेको थियो। मुस्लिम अगुवासँगको छलफलपछि प्रहरीले पोखरी किनारामा राखेको झन्डा हटाएको थियो। सोही झन्डा हटाएको विरोधमा बिहीबार दिउँसो प्रदर्शन भएको हो।
प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण हुँदा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको प्रहरीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।